बागलुङ नगरपालिकाको विकास बजेटको ५७ प्रतिशत मात्रै खर्च

बागलुङ, २४ जेठ– समय सबै रकम खर्चेर अनुगमन गर्ने बेला हो । तर बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षको अन्त्य हुनै लाग्दा समेत पूँजिगत बजेटको ५७ प्रतिशत मात्र खर्च गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमै आव २०७४÷०७५ का लागि बिनियोजन भएको ७१ करोड पूँजिगत बजेटमा जेठ दोश्रो सातासम्म ४१ करोड ९५ लाख रुपैयाँ मात्र खर्च गरेको देखिएको हो । नगरपालिकाले बजेट फिर्ता हुन नदिनका लागि सबै रकम निकासा गराएको छ । हाल नगरपालिकामा पूर्वाधार तर्फका ४ सय ९१ योजनाहरु संचालनमा छन् ।
तीमध्ये १ सय ३० वटामात्र सम्पन्न भएको देखिन्छ । २ सय ९४ वटा अझै सम्पन्न हुन बाँकी छन् । बर्षात लाग्दा समेत ६७ योजनाहरु अझै सम्झौता समेत भएका छैनन् । नगरपालिकामा वित्तिय समानिकरण अनुदान तर्फको सबै काम ५७ प्रतिशत मात्र भएका छन् । त्यस्तै सशर्त अनुदान तर्फको शिक्ष, स्वास्थ्य, पशु, कृषि र आर्युेवेद औषधालय कार्यक्रमको खर्च पनि ५७ प्रतिशतमै सिमित भएको छ । नगरपालिकाले गत दशैमा सक्ने भनेको माझी बस्ती हस्तान्तरण अझै गर्न सकेको छैन । खर्च भने सबै सकिएको बताइएको छ । नगरपालिकाले सडक बोर्ड तर्फको अनुदान र संघिय पूर्वाधारर शहरी स्वास्थ्य केन्द्र तर्फको बजेट भने सबै खर्च गरिसकेको हो । सामाजिक सुरक्षा तर्फको १२ करोड ९८ लाख रुपैयाँमध्ये पनि ७ करोड १९ लाख रुपैयाँ खर्च भएको देखिएको छ ।
सामाजिक परिचालनमार्फत गरिने एलजिसिडिपी कार्यक्रमको पनि ८४ प्रतिशत मात्र वित्तिय प्रगती भएको देखिएको हो । ‘यो बर्ष हामीले चाहेर पनि सबै काम गर्न सकेका छैनौं’ नगर प्रमुख जनक पौडेलले भने, ‘चुनावले समयमा बजेट निकासा गर्न पाईएन, ठेक्का सम्झौताहरु ढीला भएर खर्च नभएको देखिएको हो ।’ बर्षातमा पनि निरन्तर काम गर्नका लागि बजेट निकासा गरिसकेका हौं । जेठ अन्तिम साता र असारमा गरिने कामले प्रगतीमाथि उक्लिने उनले दावी गरे । नगरपालिकाले चालु बर्षमै सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगरको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने ऐन, बजार अनुगमन निर्देशिका, रेडियो संचालन व्यवस्था कार्यविधि र शिक्षा नियमाबली बनाएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए ।
ती बिषयमा बिनियोजित सबै रकमको शतप्रतिशत उपलब्धी गरिसकेको उनले दाबी गरे । आकासे पुल र शहिद पार्क व्यवस्थापनको काम शुरु भएको र बागलुङ कालिका मन्दिर क्षेत्रमा बन्यजन्तु संरक्षण पार्क बनाई सकिएको सापकोटाले बताए ।