एनलग हटाएर डिजिटल बनाउने सेटअप बक्सको रामकहानी

उपभोक्ता आक्रामक, बिक्रेता रक्षात्मक

बागलुङ, २४ जेठ–उपभोक्तालाई निशुल्क सेटअप बक्स दिएर एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरित गर्न लागिएको केवल नेटर्वकमा बिना जानकारी लिईएको शुल्कले उपभोक्ता मर्कामा परेका छन् । सेटप बक्स निशुल्क दिने भनिएपनि जडानका बेला केवल कम्पनीहरुले शुल्क असुल्न थालेकाले उपभोक्ता मर्कामा परेका हुन् । शुरुमा निशुल्क दिने भनिएको सेटप बक्स जडानमा केवल सञ्चालकहरुले एक हजार दुर्ई सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्म लिएकाले उपभोक्ता मर्कामा परेको बागलुङका उपभोक्ता राम शर्माले बताए ।
सुरुमा निशुल्क दिने भनिए पनि जडानका बेला निकै महंगो शुल्क असुलेर केवल सञ्चालकले उपभोक्ता ठग्ने काममा लागेको शर्माको दाबी छ । बागलुङ बजारमा रहेको बागलुङ केवल नेटवर्कले आफुखुशी शुल्क असुलेको उपभोक्ताको आरोप छ । ‘सेटअप बक्स जडान गर्दा ठाउँ र ब्यक्ति अनुसार फरक–फरक मुल्य लिएको पाईएको छ’ शर्माले भने ‘तीन वटा बक्स जडान गर्नुपर्ने घरमा ४ हजार ५ सयसम्म शुल्क लिईएको छ ।’ केवल सञ्चालकले व्यहोरा खुल्ने बिल भरपाई नदिएका कारण पनि उपभोक्ता अन्यौलमा रहेको उनीहरुको भनाई छ । ‘पुरानो बक्यौता रकमलाई पनि मौका छोपेर लिने तर विवरण नदिँदा हामीमा अन्यौता छ’ बागलुङकै उपभोक्ता राम प्रसाद घिमिरेले भने– ‘बिल बिजक बिना हजारौं रुपैयाँ शुल्कको बहानामा लिन पाईंदैन् ।’ उपभोक्ताहरुले आँफुहरु ठगिएको आवाज उठाउन थालेपछि बागलुङ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
उपभोक्ताबाट सेटअप बक्स जडान गर्दा लिईएको शुल्कका बिषयमा आवाज उठ्न थालेपछि बागलुङ केवल नेटर्वकलाई विवरण पोश गर्न भनिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘हामीले एक साताको म्याद राखेर विवरण पेश गर्न भनेका छौं’ प्रमुख पौडेलले भने ‘प्राविधिक विषयको अध्ययन गरी कमजोरी भएको भए सच्चिन आग्रह गरिसकेका छौं ।’ सेटअप बक्स जडानको बेला लिईएको शुल्क अनाधिकृत भए कार्वाहीका लागि प्रक्रिया अगाडी बढाईने पौडेलले बताए । केवल नेटर्वकले लिएको शुल्कको विषयलाई लिएर बागलुङका उपभोक्ताले प्रदेश सरकारको समेत ध्यानाकर्षण गराईसकेका छन् । गत जेष्ठ १९ गते बागलुङ आएका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङलाई भेटेर उपभोक्ताहरुले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझेका गुरुङले कुनै प्रतिक्रिया नदिएको भएपनि जिल्ला प्रशासन कार्यालय भने मुख्यमन्त्रिको निर्देशन कुरेर बसेको छ । बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बोदार्थ राखी बुझाईएको ज्ञापनपत्र कार्यालयमा नआएकाले मुख्यमन्त्रीको निर्देशन कुरेर बसेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले बताए । म्याक्स टिभीको सेटअप बक्स जडान गरिरहेको बागलुङ केवल नेटर्वकले आफुहरुले उपभोक्ताबाट शुल्क लिएको स्वीकार गरेको छ । केवलका सञ्चालक राजकुमार श्रेष्ठले म्याक्स टिभीले आफुहरु सँगबाट सफ्टवेयर र एक्टीभेसन चार्जको रुपमा शुल्क लिएकाले सोही अनुसार ग्राहकबाट शुल्क उठाएको बताए । ‘सेटअप बक्स निःशुल्क नै उपलव्ध गराईएको छ, जडान शुल्क र सफ्टवेयर तथा एक्टीभेसन चार्जका रुपमा १ हजार २ सय रुपैयाँ लिँदै आएका छौं’ श्रेष्ठले भने– ‘केही बक्यौता रहेका उपभोक्ताको रकम समेत एकमुष्ठ लिने गरेकाले धेरै देखिएको हो ।’ उनले डिजिटल प्रणालीको लागि आवश्यक पर्ने सफट्वेयर निकै महंगो हुने भएकाले त्यसबापत १ हजार रुपैयाँ र जडान शुल्कबापत २ सय रुपैयाँ लिने गरेको बताए । एक बर्षका लागि सेटअप बक्सको बिमा समेत हुने भएकाले बिमाका लागि आवश्यक १ सय रुपैयाँ समेत सोही रकमबाट भुक्तानी गरिने श्रेष्ठले बताए । निशुल्क सेटअप बक्स उपलव्ध गराउने प्रचार–प्रसार गरिरहेको म्याक्स टिभीले घुमाउरो बहाना बनाएर केवल सञ्चालकबाट रकम असुलेको छ ।
केवल सञ्चालकहरुले प्रति सेटपबक्स ५ सय ६५ रुपैयाँ जडान खर्च र १ सय रुपैयाँ बिमा रकम लिने गरेको म्याक्स टिभी प्रा.लि.का निर्देशक सुशिल लामाले बताए । ‘हामीले ससर्त निःशुल्क भनेका हौं’ लामाले भने ‘३ हजार ५ सय पर्ने सेटअप बक्स निशुल्क दिँदा जडान खर्च मात्रै लिने गरेका छौं ।’ बक्सको जडान र एक्टीभेसनमा स्थानिय केवल सञ्चालकले भ्याटबिल काटेर आवश्यकता अनुसार शुल्क लिन पाउने उनले बताए । घुमाउरो तरिकाले म्याक्स टिभीले उठाएको शुल्कको बहानामा उपभोक्ताबाट थप रकम असुलेका स्थानिय केवल सञ्चालकहरु स्थानिय सरकार तथा प्रशासनको नजरमा परेका छन्भने म्याक्स टिभीले नजानिँदो फाईदा उठाईरहेको छ । सरकारले आगामी असार मसान्तभित्र एनालग सिग्नल नहटाए कार्वाही प्रक्रिया थाल्ने बताएपछि डिजिटल प्रणाली जडानमा लागेका बागलुङका केवल सञ्चालकहरु विवादमा तानिएका छन् ।