अर्थमन्त्री भन्छन-आगामी आवको बजेट समृद्धिको प्रस्थान विन्दु

नेपालमा नै लगानी तथा रोजगारीको सिर्जनालाई बजेटको विशेष जोड

काठमाडौं, २४ जेठ – सरकारले आगामी आर्थिक वर्षको बजेटलाई समृद्धिको प्रस्थान विन्दुको रुपमा लिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री खतिवडाले उद्योगी तथा व्यापारीहरुको सहकार्यले नै देश अगाडी बढाउन चाहेको स्पष्ट पारे।
उनले आगामी आवको बजेटमा आयतमुखि भन्दा निर्यातमुखि उद्योगहरुलाई प्राथमिकता दिएको भन्दै नेपालमा रोजगारी सिर्जना गर्न चाहेको बताए। बजेट मार्फत नै नेपालको उत्पादनमा सहकार्य गर्न चाहनेको लागि सम्बोधन गरिएको उनको दाबी छ।
बजेटले अर्थतन्त्रको दिशा परिवर्तनको कुरा गरेको बताउँदै मन्त्री खतिवडाले भने, ‘राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने भनेको प्रत्येक नेपालीले स्वविवेकले स्वाधीन भएर काम गर्न पाउनुपर्छ भन्ने हो। त्यसलाई नै आधार मानेर देश अघि बढाउन सरकार प्रतिवद्ध छ।’
आफ्नो प्राथमिकतामा साधन विनियोजन र उपयोग गर्न पाउने, साना तिना अन्तर्राष्ट्रिय धक्का आउँदा पनि मुलुक चलाउन सक्ने अर्थतन्त्र निर्माण गर्न यो बजेट मार्फत खाका निर्माणको तयारी भएको बताए। त्यसका लागि आधारभूत कुराहरुमा कृषि र उद्योग क्षेत्र आत्मनिर्भर हुनु पर्ने भएकोले बजेटले उक्त विषयलाई प्राथमिकतामा राखेको समेत जानकारी दिए।
विगतमा रेमिट्यान्समा आधारित अर्थव्यवस्थाका कारण मुलुकमा उपभोक्तावाद हावी भएको भन्दै अब उत्पादनमा सबैको जोड हुनुपर्ने बताए। रेमिट्यान्समा आधारित आयात र आयातमा आधारित कर प्रणाली त्यसैले चलेको वित्त व्यवस्थाले मात्रै नहुने भएकोले नेपालमा नै लगानी तथा रोजगारीको सिर्जनालाई विषेश जोड दिएको उको भनाई छ।
बैंक तथा वित्तीय संस्थाले स्वदेशीका अतिरिक्त विदेशी पुँजी भित्र्याउनका लागि पहल गर्नुपर्ने उनले बताए। नेपालमा अहिले विदेशी पुजिकै भर पर्नु पर्ने अवस्था रहेको पनि उनले स्पष्ट पारे।