छुवाछुत विरुद्ध छैठौंको अभियान

बागलुङ, २५ जेठ– ढोरपाटन नगरपालिकामा अखिल (छैठौँ) बागलुङको छुवाछुत विरुद्धको अभियान–२०७५ सुरु भएको छ । जिल्लाव्यापी कार्यक्रम अन्र्तगत यो अभियान नगरपालिकाको वडा नं. ४ मा रहेको प्रकाश माध्यमिक विद्यालयबाट शुरु गरिएको अखिल (छैठौँ) बागलुङका उपाध्यक्ष दिलिप बुढाथोकीले जानाकारी दिए । समाजमा व्याप्त अन्धविश्वासले विद्यार्थीहरुको कलिलो मानसिकतामा पनि नकारात्मक असर पारिरहेकोले जिल्लाव्यापी अभियान थालिएको उनले बताए ।
अभियानले विद्यार्थीहरुमा छुवाछुत जस्तो सामाजिक कुप्रथा अन्त्यको लागि जागरण ल्याउने र उनीहरुले आफ्नो परिवारका सदस्यहरुमा पनि छुवाछुत विरुद्धको सन्देश प्रवाह गर्ने उपाध्यक्ष बुढाथोकीले अपेक्षा व्यक्त गरे । साथै, अभियानसँगै विद्यार्थी संगठन सुदृढिकरणका लागि समिति गठन अभियानको समेत थालनी गरिएको बताए । अभियानअन्र्तगत प्रकाश माविमा अखिलको इकाइ समितिको गठन गरिएको छ । जिल्ला उपाध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको विद्यार्थी भेलाले १४३ सदस्यीय अखिल (छैठौँ) इकाई समितिको गठन गरेको हो । जसको अध्यक्षमा तेजेन्द्र फगामी, उपाध्यक्षमा गीता विक, सचिवमा मनोज सुनार, सहसचिवमा ललित रसाइली, कोषाध्यक्षमा निर्जला फगामी लगायत रहेका छन् । अखिल (छैठौँ) ढोरपाटन नगर कमिटिका सदस्य सुमन विश्वकर्माको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन नगर कमिटिका सह–सचिव मिलन पौडेलले गरेका थिए ।