विदेशीको भरमा विद्यालय संचालन

शिक्षक देखी पुस्तक सम्मलाई दाताको सहयोग

बागलुङ, २५ जेठ– ढोरपाटनस्थित ज्योती विकास आधारभूत विद्यालय विदेशीको सहयोगको भरमा चलेको छ । कक्षा ८ सम्मको पढाई हुने विद्यालयलाई दाताले शिक्षक दरबन्दी बालबालिकाको पाठ्य सामाग्री समेत सहयोग गरेको हो । विद्यालयमा ४ जना शिक्षकको तलब ५ बर्षदेखि फ्रान्सको ‘आर्चडी डोलाङजी’ नामक संस्थाले सहयोग गरेको हो । उक्त संस्थाका प्रतिनिधिहरु शिकार आरक्ष घुम्न आएको समयमा धेरै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनु परेको देखेपछि उक्त सहयोग गरेका थिए ।
हाल उक्त संस्थाले प्रतिशिक्षक १८ हजार रुपैयाँको दरले नगद पठाउने गरेको छभने पोशाकका लागि पनि सहयोग दिएको हो । हरेक बर्ष शिक्षकको तलबबाहेक ४ सय बालबालिकालाई पोशाक, कापीकलम र जुत्ता समेत सहयोग गर्दै आएको हो । यो सहयोग पाएपछि बालबालिकाहरु नियमित विद्यालय आएको प्रअ चकबहादुर अदैले बताए । ‘मेहेनत त हामीले पनि गरेका छौं, तर शिक्षक दरबन्दी र विद्यार्थीलाई सहयोग जुटेकोले नियमितता छ’ प्रअ चकबहादुर अदैले भने, ‘आर्थिक अवस्था कमजोर भएका बालबालिका भएकोले कापीकलम र पोशाक अभावमा पनि विद्यालय छाड्ने धेरै थिए ।’ पोशाक, जुत्ता र कापीकलम पाउन थालेपछि धेरै विद्यार्थी नियमित भएको उनले बताए । शिक्षकहरुको व्यवस्थापनका लागि चार वर्षअघि जिल्ला शिक्षाले दरबन्दी मिलान गरेपनि यहाँका विद्यालयमा शिक्षक पठाउन सकेको थिएन । पठाएका शिक्षकपनि काज मिलाएर बजार क्षेत्रमै बस्दै आएपछि यहाँको पढाई प्रभावित थियो । अझैपनि ढोरपाटन क्षेत्रका धेरै विद्यालयमा दरबन्दी नपाएर स्थानीय श्रोतका शिक्षकले मात्र पढाएका छन् ।
आर्थिक अबस्था कमजोर भएका बालबालिकालाई खाजा समेत व्यवस्थापन गरेमा सबै नियमित हुने भन्दै विद्यालयले दाताको खोजी गरिरहेको छ । केही समय अघि स्थानीय गैरसरकारी संस्थाहरुले बालबालिकालाई खाजा खुवाउन सहयोग गरेका थिए । ‘घरमा पेटभरी खान नपाएका बालबालिकाहरु विद्यालयमा आउन रमाउने वातावरणको खोजीमा छौं’ उनले भने, ‘विद्यालय नआउने र आएका पनि छाड्ने दरलाई शुन्यमा लैजाने योजना हो ।’ यहाँ भर्ना भएकामध्ये अझै १५ प्रतिशत बालबालिका नियमित बिद्यालय नआउने र अभिभावकसंगै मेलापात जाने गर्छन् ।
दुर्गममा भएपनि विद्यालयमा कम्प्युटर, फोटोकपी र प्रोजेक्टरको व्यवस्था छ । नजिकैको गार्पा खोलाबाट निकालिएको लघुविद्युतको प्रयोगबाट ती उपकरण संचालनमा ल्याइन्छ छ । उपकरण भने दाताले नै दिएको हो । ‘यहाँ इन्टरनेट पनि संचालन गर्न सकिन्थ्यो, तर नेपाल टेलिकमको सेवा बिस्तार भएको छैन’ स्थानीय गीता श्रीपालीले भनिन्, ‘इन्टरनेटको सुविधा भएमा भूगोलले टाढा भएपनि शिक्षा र अन्य सेवामा पहुँच बढ्ने थियो ।’ यो बिजुलीबाट यहाँका झण्डै ४ सय घरमा बिजुली बलेको छ । शिकार आरक्ष, सेना र तिब्बती शरणार्थी रहेको बस्तीमा बिजुलीको उज्यालो पुगेको हो । विद्यालयले भने दाताको सहयोगमा आफ्नो क्षेत्रका शतप्रतिशत बालबालिका विद्यालय भित्राउने योजना बनाएको अदैले सुनाए ।