गलकोट नगरमा सडक संजाल थपिदै

बागलुङ, २५ जेठ– ग्रामीण सडकको रुपमा खनिएका गलकोटका सडकलाई स्तरोन्नती गरेर मोटर चल्ने बनाइने भएको छ । नगरपालिकाले आगामी बर्ष चक्रपथ बनाउन लक्ष्य बनाएपछि सबै सडकलाई स्तरोन्नतीको सूचीमा राखिएको हो । यसअघि ग्रामीण र कृषि सडकको नाउमा सडक बनाइएको थियो । ती सडकहरु हिउँदे प्रकारका थिए । अहिले नगरपालिकाले बर्षातमा पनि सवारी चल्ने बनाउन लागेको हो । चालु आर्थिक बर्षदेखि थालिएको काम आगामी बर्ष पुरा भएपछि चक्रपथ बनाएर नियमित सवारी चलाउने योजना रहेको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए ।
गलकोट नगरपालिकामा साविकका दुदिलाभाटी, नरेठाँटी, हरिचौर, हटिया, काँडेवास, मल्म, पाण्डवखानी र रिघा गाविस छन् । तीमध्ये पाण्डवखानी र रिघालाई चक्रपथमा जोड्न नमिल्ने भएकोले अरु सबै वडालाई छोएर बनाइने योजना अगाडि सारिएको हो । हाल सबै वडामा खोलिएका सडकका ट्रयाकमा थोरै जोड्ने र स्तरोन्नती गर्ने बित्तिकै चक्रपथको स्वरुप आउने उनले बताए । यसरी बनने चक्रपथले ऐतिहासिक गलकोट दरबार र दरमखोलालाई बिचमा पार्नेछ । पुरानो सदरमुकाम पनि भएकोले यहाँ चक्रपथ बनाउँदा पर्यटन प्रवद्र्धन र बजारबासीलाई समेत सहयोग मिल्ने बताइएको छ । नगरपालिकाको भवनमा जाने सडकमा निर्माणाधिन पुल भने चालु बर्ष नसकिने भएको छ । पुल नसकिंदा बर्षातमा झोलुंगेपुल तरेर मात्र नगरपालिका पुग्न सकिने भएको हो । हरिचौर र हटियाका यात्रीले दुवैतर्फ झोलुंगेपुलको भर पर्नुपर्ने भएको हो ।
दुवैतर्फ पुल बनिनसकेकोले समस्या हुने उपप्रमुख रेणुका काउचाले बताईन् । ती पुल बनाउने काममा भने नगरपालिकाको लगानी छैन । सडकको कार्यक्रममा ठेकेदारले ढिलाई गरिदिँदा अलपत्र जस्तो भएको हो । नगरले विनियोजन गरेको बजेटतर्फ हरेक वडा तहमा १० लाखदेखि २२ लाख रुपैयाँसम्म लगानी गरेर काम भएको हो । ‘चालु बर्षका धेरै जसो काम पुरा भैसकेका छन्’ सब–ईन्जिनियर नारायण पौडेलले भने, ‘छुटेका एकदुई योजनामा मात्र सम्झौता गरेर काम थाल्दैछन् ।’ शिक्षा तर्फका केही साना आयोजनाको कार्यक्रम ढिला आईपुग्दा कामपनि ढिलाई भएको उनले बताए । हाल ट्रयाक खुलेका कृषि सडकहरुलाई ८ मिटरको बनाएपछि ग्राभेलकै तयारी भएको हो । आगामी बर्षको बजेटमा ती सडक पनि ग्राभेल भैसक्ने गैह्रेले दाबी गरे । आगामी बर्ष कम्तिमा ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर चक्रपथ जोडेरै छाड्ने नगरपालिकाले लक्ष्य बनाएको हो ।
काउचाकै संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन भएको छ । उक्त समितिले आगामी बर्षका लागि आवस्यक बजेट र राजश्वका आधार तयार गर्नेछ । चालु बर्ष यो नगरले १ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरिसकेको छ । आगामी बर्ष झण्डै २ करोड बढी उठाउने लक्ष्यसहित बजेट बनाउने तयारी समेत छ ।