विज्ञ समूहको प्रतिवेदन विमानस्थल निर्माण रोक्ने षड्यन्त्र-पोखरेली

पोखरामा जसरी पनि एयरपोर्ट बन्ने मुख्यमन्त्री गुरुङको दावी

पोखरा, २५ जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ समूहको ‘पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ठीक नभएको’ भन्ने प्रतिवेदनप्रति पोखरावासीले आपत्ति जनाएका छन्। पोखरेलीहरुले विमानस्थल निर्माणले गति लिएको बेला सार्वजनिक भएको प्रतिवेदन समग्र प्रदेश नम्बर ४ प्रतिको पूर्वाग्रह भएको भन्दै असन्तुष्टि जनाएका हुन।
‘यो प्रतिवेदन षड्यन्त्रपूर्ण छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार विमानस्थल निर्माण र यसको वास्तविकता’ विषयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले भने, ‘मन्त्रीबाट गठन भएको समूहले दिएको प्रतिवेदनले हामी आश्चर्यचकित भएका छौँ, यो मन्न्त्रीमाथिको पनि प्रश्न हो।’
यतिबेला पोखराकै रवीन्द्र अधिकारी पर्यटन मन्त्री छन्। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेण्डालाई उनले पटक पटकको चुनावमा उठाउँदै आएका थिए। पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा विमानस्थल निर्माणको लागि दबाब दिन आयोजना भएको अनसन कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी सिंहदरबार घेराऊ कार्यक्रमलगायतका सबैजसो आन्दोलनमा उनी अग्रमोर्चामा रहँदै आएका थिए। उनै अधिकारी मन्त्री भएको बेला उनले नै गठन गरेको समितिले पोखरा विमानस्थलबारे दिएको प्रतिवदेनपछि भने पोखरा क्षेत्रमा उनको आलोचना हुन थालेको हो।
सञ्चारमाध्यमको नजिक रहेका तथा निरन्तर सामाजिक सञ्जालमा सक्रिय मन्त्री अधिकारी विज्ञ समूहको प्रतिवेदनबारे मौन छन्। ‘यतिबेला काठमाडौँलाई केन्द्र मान्ने स्वनामधन्यहरुले मन्त्री ९ रवीन्द्र०को काँधमा बन्दुक राखेर आफ्नो काम गर्दैआएका छन्’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सोही कार्यक्रममा भने, ‘काठमाडौँको नेक्सस ठूलो छ, त्यही समूहले फेवातालमा गलत गर्नेहरुलाई विज्ञ टोलीमा राख्न सफल भएका हुन्।’
मन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुल्मीले मन्त्रीकै निर्देशनमा यो गतिविधि भएको त होइन भन्ने प्रश्नसमेत गरे। नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले पोखरामा विमानस्थल निर्माण अभियानलाई कसैले रोक्न खोजे त्यसको कडा प्रतिवाद गरिने बताए। उनले केन्द्र सरकारले विमानस्थल बनाउन आलटाल गरे प्रदेश सरकारले ऋण लिएर भए पनि विमानस्थल बनाउनुपर्नेमा जोड दिए।
पर्यटन मन्त्री अधिकारी पोखराकै भए पनि उनले पोखरा र समग्र प्रदेशको जनताको भावनामाथि खेलबाड गरेको उनको आरोप थियो।कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ‘करण’ले कथित विज्ञहरुको टोलीले दिएको प्रतिवेदनलाई दुर्भाग्यपूर्ण बताउँदै सो प्रतिवेदनलाई केटाकेटीपनको संज्ञा दिए।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले थानकोट पनि नकटेका केही व्यक्तिहरुले तीनपुस्ते पोखरेलीको सपनामाथि धावा बोल्न खोजेको गुनासो गरे। अर्का पूर्वअध्यक्ष प्रकाश खनालले पोखरा विमानस्थल मन्त्रीको गोजीबाट नभई पोखरेलीको संघर्षबाट आएको बताउँदै मन्त्रीको गलत क्रियाकलापको प्रतिवाद गर्ने बताए।
प्रतिवेदन बेमौसमी बाजा- मुख्यमन्त्री गुरुङ
प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहको प्रतिवेदनलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्।पृथ्वीसुब्बा गुरुङ‘यो बेलामा के को विज्ञ समूह?’, पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थल निर्माणप्रति विज्ञ समूहको नाममा आएको प्रतिवेदनप्रति असन्तुष्टि जाहेर गर्दै ज्ञापनपत्र बुझाएपछि उनले भने, ‘पोखरामा जसरी पनि एयरपोर्ट बन्छ, अझ यसको रनवे ५ सय मिटर थपिन्छ।’ उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ समूहलाई औचित्यहीन भएको बताए। केन्द्र सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्दै आएको अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री हुँदादेखि नै विमानस्थलको जग्गा मुआब्जा र निर्माण कार्यलाई अगाडि बढाउन खेलेको भूमिकाको स्मरण पनि गरे।