आफै भित्रको सुखको खजाना

एउटा बेजोड सन्देश बोकेको लघु कथा छ । एक दिन एक जना धनी बाबुले आफ्नो कलिलो छोरालाई गरीब बस्तीमा घुमाउन लैजान्छन् । उनको उद्देश्य छोरालाई मानिसहरु कतिसम्म गरीब छन् भन्ने बोध गराउने हुन्छ । गरीब बस्तीमा हप्तौं घुमेर फर्किने क्रममा बाबुले छोरा लाई सोध्छन्, “छोरा यात्रा कस्तो लाग्यो ?”
“धेरै राम्रो, तर हामीसँग केवल एउटा सानो पौडी पोखरी मात्र छ, तिनीहरुसँग सिंगो नदी छ । हामीसँग एउटा महँगो बत्ति छ, तिनीहरुसँग लाखौं ताराहरु छन् । हामीसँग जमिनको एक सानो टुक्रा छ, तिनीहरुसँग अनन्त आकाश छ ।” आशा अनुरुप छोराबाट उत्तर नपाएर बाबु तीन छक्क पर्छन् ।
यो हामी सबैको कथा हो । हामीसँग जे छ त्यसमा रमाउन होइन । जे छैन त्यसको अभावमा आजीवन पिरोलिन्छौं ।
“समृद्ध नेपाल र सुखी नेपाली” को नारा अचेल हरेक नेपालीको मुखमा झुन्डिएको छ तर सुखको स्रोत के हो र कसरी प्राप्त गर्ने भन्ने बारे भने हामी अबुझ छौं ।
मानव जातिको करिब १० हजार वर्षको लिखित इतिहासमा मानव जीवनको सुखकै लागि तमाम सुविधाहरु थपिए । सिद्धान्तहरु प्रतिपादित भए । तर हिजो भन्दा आज मानिस भौतिक रुपमा अलि सुखी देखिए पनि मानसिक रुपमा सुखी भएको प्रतित हुन्न ।
गत सहस्राब्दीकै महान चिन्तक कार्ल मार्क्सले मानिसको दुखको कारण सर्वहारा वर्ग र पूँजीपति वर्ग बीचको अत्यास लाग्दो आर्थिक बिषमतालाई माने । अतिरिक्त मूल्यले सर्वहारा माथि भएको आर्थिक शोषणबाट उन्मुक्तिको उपाय वर्ग संघर्ष ठाने उनले । सर्वहारा वर्गको जीवनमरणको संघर्षमा विजय हुने र संक्रमणकालिन व्यवस्था समाजवाद, जहाँ राज्य त हुन्छ तर निजी सम्पत्ति हुन्न, हुँदै वर्ग विहीन, राज्य विहीन र निजी सम्पत्ति विहीन सुखी समाज निर्माण हुने उनको निचोड थियो । तर साम्यवादी क्रान्ति सम्पन्न भएका मुलूकहरुको अवस्था हेर्दा यस्तो छनक कहि कतै भेटिन्न ।
बिसौं शताब्दीका विख्यात मनोवेत्ता अब्राहम मास्लोले मानव आवश्यकताका तहहरु माथि व्याख्या गर्दै आत्म रुपान्तरणको अन्तिम सोपानमा मानिस आनन्दको अतिरेकमा अवतरित हुने बताए । उनका अनुसार मानिसको पहिलो आवश्यकता दैहिक हो, जस अन्तर्गत उसले खाना, नाना, छाना र प्रजनन सुखानुभूति खोज्छ । यतिले उ सन्तुष्ट हुन सक्दैन । यि सबै गर्नका लागि उसलाई सुरक्षाको प्रत्याभुति हुनु पर्छ । दैहिक र सुरक्षाको प्रत्याभूतिसँगै अब मानिसलाई प्रेम र स्नेहको आवश्यकता पर्छ । त्यसपछि उसले सम्मान खोज्छ । आवश्यकताको पाचौं चरणमा मानिस आत्मसिद्ध भई समग्रतामा सृजनशिल हुन्छ र अन्ततः आत्म रुपन्तरणको भावविभोर अन्तहीन आनन्दमा लीन हुन्छ ।
हाम्रै नेपाली माटोमा आजभन्दा २६०० वर्ष अघि गौतम बुद्धले दुख मुक्तिको सविस्तार आधना पद्धति पस्के । दुख र दुख मुक्तिका बारे उनका चार आर्य सत्य प्रस्तुत छन । संसारमा दुख छ । दुखको कारण छ । दुखको कारण हटाएर दुखमुक्त हुन सकिन्छ । दुख मुक्तिको उपाय अष्टाध्र्ग मार्ग हो । उनले सुझाएको अष्टाङ्ग मार्ग साधनाको सिढी मात्र हो, अन्तिम मन्जिल त बेशर्त र अन्तहीन सुख र आनन्द नै हो ।
बिकासको वैभवले पहिले भन्दा अहिले शिखर चुमेको छ । परिस्थति व्यापक फेरिएको छ तर मानिसको मनस्थिति भने उही छ । मानव जातिको सुखको खोजी कस्तुरी मृगको मृगतृष्ण झै भएको छ । हामी दौडिएका त छौं तर सुख प्राप्त भने कहिल्यै गर्न सक्दैनौं । बाहिरी बस्तु र उपभोगमा खोजिने सुखको दुर्दशा यस्तै बिषादमा गएर अन्त्य हुन्छ ।

यस आलेखको शुरुमा उल्लेखित कथामा झैं हामी अरुको पछि दौडिन्छौं । आफ्नो स्वधर्ममा जीउन छोडेर अरुको देखासिकीमा रमाउँछौ । गितामा श्री कृष्णले “स्वधर्मे निधनम् श्रेय, परधर्मो भयावह” त्यसै भनेका होइनन् अर्थात अरुको धर्ममा जीउनु भन्दा आफ्नो धर्ममा मर्नु श्रेयस्कर हुन्छ ।
शरीर विज्ञानका अनुसार मानिस आनन्दित हुन इन्डोरफिन्स नामक हर्मोन श्रवित हुनुपर्ने हुन्छ । शारिरीक व्यायामको माध्यमबाट यो द्रवित हुने हो । यसको स्रोत बाहिर छैन । त्यस्तै हाम्रै शरिरबाट निस्किने सेरोटोनिनले हामीलाई हाम्रो प्राकृतिक अवस्थामा राखि राख्न मद्दत पुर्‍याउछ । टोरन्टो विश्वविद्यालयले विगत २६ वर्ष यताका कैयौं शोधहरु संश्लेषण गरेर यो कुरा सही सावित गरेको छ ।
बाह्य सुविधाले हामीलाई सजिलो गरी जीउन सहयोगसम्म पुर्याउन सक्छ तर मनको मैलो पखाल्न सक्दैन । हाम्रो मन मैला मुक्तिका लागि आफ्नै चेतना प्रयोग गर्नुपर्ने हुन्छ । हाम्रो ज्यादातर समय विगत र भविश्यको पीडा र चिन्तामा रुमल्लिन्छ । हाम्रो विचारको अन्तहीन श्रृंखलाले वर्तमानको सुखद समयसमेत निरस बन्न पुग्छ । जर्मनमा जन्मिएर कर्मथलो क्यानाडालाई बनाएका प्रख्यात आध्यात्मिक गुरु एकहर्ट टोलको प्रशिद्ध पुस्तक “पावर अफ नाव”मा मानिस भूत र भविश्यको चिन्तामा कसरी हराउछ र सुखि र आनन्दित जीवनका लागी वर्तमानमा कसरी बाँच्ने भनी सविस्तार बताइएको छ ।
पतन्जली योग सूत्रमा चित्तको वृति नै दुखको कारण हो भनिएको छ । चित्तको वृतिबाट मुक्त हुन सके हामी तत्क्षण सुखी हुन्छौं । योगले चञ्चल चित्तदशाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ । हामी भित्र चेतना छ, प्रतिभा छ । अन्तरहृदयको त्यही चेत प्रयोग गरी हाम्रो जीवन धन्य बनाउन सक्छौं ।
हामी मध्ये धैरैलाई लाग्न सक्छ, आपसी प्रतिस्पर्धा र निरन्तर चिन्तन् आजको युगको अनिवार्य आवश्यकता भइसक्यो । विकासका लागि यो अनिवार्य सर्त हो । तर अचम्म के छ भने फलको आशा नगरी गरिएका हरेक कर्मले शिखर चुमेका छन् । अल्बर्ट आइन्सटाइनको विज्ञान, लियोनार्दो दा भिन्चिको कला, लुडविग भन विथोइनको संगीत या लियो टल्सटोयको साहित्य कुनै प्रतिस्पर्धा र पुरस्कारको रागले गरिएका कर्म होइनन् बरु निष्काम कर्मको अमनी दशामा श्रृजिएका कृति हुन् जसको प्रभाव र महत्वप्रति सिंगो मानव जाति धन्य छ । हाम्रा धर्मग्रन्थहरुले निष्काम कर्मको महिमा बर्णन गरेका छन् ।
अलेक्जेण्डर द ग्रेट संसार जित्न निस्किदै थिए । उषाको सुमधुर लाली किरणको मजा लिंदै एकजना सन्त समुद्रि तटमा पल्टिरहेका थिए । ति सन्तप्रति अलेक्जेण्डरको आदरभाव थियो । त्यसैले उनले सन्तलाई सोधे, “म संसार विजयका लागि निस्किदै छु, जानु भन्दा पहिला तपाईलाई जे चाहिन्छ म दिन तयार छु ।”
“म र मेरो कुकुर यो विहानीको घामको मजा लिदैंछौ, सक्छौ भने तिमी अली पर हटि देउ ताकी सूर्यको किरण नछेकियोस्” सन्त भन्छन् । आत्मराम पुरुष बाह्य सुखमा नभै आफै भित्र आनन्दित रहन्छ भन्ने कुराको यो बेजोड नजिर हो ।
भौतिक सुविधाले मात्रै सुखि हुन सकिने भए गेस लिभरमोर जस्ता वाल स्ट्रिटका ठूला धनाढ्य, इभेर क्रियुगर जस्ता उद्योगपति, मरलिन मुनरो जस्ता कलाकार, र क्लियोपेट्रा जस्ति सुन्दरीले आत्महत्या गर्ने थिएनन् । बुद्धको अन्तिम देशना छ, “अप्पो दिपो भव ।” जसको अर्थ हुन्छ आफै दियो बन । आफू भित्रको प्रभा दोहन गरी आफ्नै प्रकाश प्रज्वलित नगरेसम्म हामी सुखी हुनै सक्तैनौ ।
[email protected]