सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा

२२ लाख नगद, केही थान सुनको बिस्कुट, विशेष खालको ज्याकेट लगायत बरामद

काठमाडौँ, २५ जेठ – सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो । त्यस क्रममा २२ लाख नगद, केही थान सुनको बिस्कुट, सुन ओसारपसारका लागि बनाइएका विशेष खालको ज्याकेट, दर्जन जति गाडीका साँचो, एउटा गाडी बरामद गरेको समिति संयोजक ईश्वरराज पौडेलले जानकारी दिए ।
अग्रवालको घरबाट केही थान कम्प्युटर, दर्जन मोबाइल सेट, विभिन्न बैंकका चेकबुक, केही थान इन्डियन सीमकार्ड र दुबई आउजाउका क्रममा ल्याइएको महागा रक्सी समेत बरामद गरिएको छ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको प्रहरीले अनुसन्धान थालेपछि अग्रवाल फरार थिए ।
पक्राउ पर्नुअघि कालिकास्थानमा बस्दै आए पनि अहिले अग्रवालको परिवारका एकजना सदस्य पनि छापा मारिएको घरमा बसेका छैनन् । सुन तस्करीको नेट्वर्क चलाइरहेका अग्रवाल प्राय भारतमै बस्थे । उनले अवैध धन्धा पनि भारतबाटै चलाउँदै आएका थिए ।