समृद्धिको सार, अभिव्यक्ति वजनदार

यतिखेर सबैको मुखसुखको विषय बनेको छ- समृद्धि । नारा होस् वा भाषण, कार्यपत्र होस् चाहे प्रतिवेदन त्यहाँ समृद्धिले बास गरेको पाइन्छ । समृद्धि शब्दको प्रयोग विना अभिव्यक्ति वजनदार नहुने ठानिएकैले होला, वक्ता जति सबैजसोका ओठमा अचेल समृद्धि झुण्डिएकै भेटिन्छ ।
‘समृद्धि’ सुन्दा राम्रो र गम्दा मीठो अनुभूति दिने शब्द हो । संस्कृत शब्द समृद्धि सम्+ऋध्+क्त मिलेर बनेको हो । नेपाली वैयाकरणले सम+ऋद्धि=समृद्धि पनि उल्लेख गरेका छन् । शब्दकोशमा ऋद्धको अर्थ प्रसन्नता, खुशियाली, धनधान्ययुक्त, धनवान्, वृद्धि, विकास, स्पष्ट परिणाम, बढोत्तरी, जम्मा गरिएको अर्थ रहेको छ भने ऋद्धिको अर्थ विकास, वृद्धि, सफलता, सम्पन्नता, विस्तार, विस्तृति, सर्वोपरिता आदि रहेका छन् र समृद्धिको अर्थ भावी वृद्धि, बढोत्तरी, फल्दोफुल्दो, बाहुल्य, प्रचुरता आदि दिइएको छ । समृद्धको अर्थ उन्नति, प्रगति भएको, विकसित, सम्पन्न दिइएको छ र समृद्धि भन्नाले उन्नति, प्रगति, सम्पन्नता, ऐश्वर्य, वैभव बुझिन्छ ।
कुनै पनि व्यक्ति, समाज वा मुुलुकको बहुआयामिक समुन्नतिलाई समृद्धिले समेटेको अनुभव गर्न सकिन्छ । त्यसैले उन्नति, आधुनिकीकरण, वृद्धि, फक्राइ, विस्तार, सुधार आदि अर्थ दिने विकासको तुलनामा समृद्धि अहिले सबैको प्यारो बनेको हुनसक्छ । कसैले यसलाई ‘हर्रो नपाउँदो जाइफल धाउँदो’ पनि भन्नसक्लान् । अतिकम विकसित मुलुकमा जहाँ विकासको टिमटिमे त नबलिरहेको बेलामा समृद्धिको झलझलाकार आलोकको कुरो कतिलाई नपच्नु अस्वाभाविक पनि होइन । तर यहाँनिर के पनि बिर्सनु हुँदैन भने आजको २१ औँ शताब्दीको यात्रामा कछुवागतिले काम चल्ने स्थिति छैन । अरुले वर्षौं लगाएर गरेको प्रगति यहाँ केही वर्षमै चरितार्थ गर्नुपर्ने वस्तुगत यथार्थ छ । छिमेकी भारत र चीनकै उन्नयनको उदाहरण लिँदा पनि पछ्यौटेपनमै खुम्चिएर नबस्ने हो भने अब समृद्धिका विभिन्न फाँटमा बुर्कुसी मार्दै अघि बढ्नुको विकल्प देखिँदैन ।
समृद्धि आज सबैको कामना हो । मुलुक र क्षेत्रीय आवश्यकताले पनि समृद्धिको यात्रा अपरिहार्य दर्शाएको छ । समस्याको विन्दु केवल यो केवल नारा, भाषण र ओठमा मात्रै सीमित नरहोस् भन्नेमा छ । केवल भाषणबाजी र लफ्फाबाजीमा समृद्धि सीमित रहेको खण्डमा यसले उही राशिको सहमतिको बिँडो थाम्ने डर छ । विगतमा राजनीतिक दलका गतिविधिले सहमतिको कुन स्तरमा हुर्मत लियो ? त्यो कसैका अगाडि लुकेको विषय होइन । तसर्थ, अवमूल्यनमा परेको सहमतिको पाठ सम्झेर पनि समृद्धिको सिलसिलालाई सर्वोच्च तहमा पु¥याउन दृढ सङ्कल्प जरुरी छ ।
‘तपाइँले भगवान्सँग समृद्धि माग्नुभएमा उनले तपाईंलाई समझ (सुझबुझ) प्रदान गर्नेछन्, जसबाट तपाईं श्रम गर्नेतिर लाग्नुहुनेछ, योग्यता बढाउनुहुनेछ र समृद्ध हुनुहुनेछ । ’ यो कतै पढिएको अंश हो । यतिखेर सान्दर्भिक बनेको छ । व्यक्तिको समृद्धिमा झैँ मुलुकको समृद्धिमा पनि सुझबुझ, ज्ञान, विवेक र परिश्रमको ठूलो महìव छ । समृद्धि दु्रतगतिमा अँगालिने नयाँ ज्ञानको प्रतिफल पनि हो । उहिलेका ग्रीसेली विद्वान् अरस्तुको भनाइअनुसार शिक्षा समृद्धिका लागि गहना हो, जसले सारा विपत्तिबाट मुक्ति र सम्पन्नता प्रदान गर्दछ । समृद्धिका लागि वेदले पनि आह्वान गरेको छ । अथर्ववेदमा कडा परिश्रम गरेर समृद्धि हासिल गर्न र उदारतासाथ वितरण गर्न प्रोत्साहन दिइएको छ । युरिपाइडिजले जति ठूलो प्रयास, उत्ति नै ठूलो समृद्धि पाइने जनाएका छन् । समृद्धिका सम्बन्धमा के पनि भनिएको छ भने यसका लागि कुनै बाटो छैन, समृद्धि स्वयं नै बाटो हो ।
‘धनधान्यसमृद्धिरस्तु’ वा ‘ऋद्धिं भवन्तु बु्रवन्तु’ जस्ता वैदिक मन्त्रमा मात्रै होइन, व्यावहारिक चलनमा पनि सुख, शान्ति र समृद्धिको शुभकामना दिने चलन यहाँ निकै अघिदेखि रहेको हो । तर पनि व्यवहारमा त्यसको सुन्दर अनुवाद नपाइनु अभावको पक्ष हो । पछिल्लो समयमा निश्चय नै समृद्धिका दिशा पहिल्याउने काम भएका छन् । दिशा पहिल्याइनुलाई मात्रै सन्तोषको विषय मान्न सकिँदैन । गन्तव्यप्रति लम्किएका कदमले नै सार्थकताको चिनारी दिने हुन् ।
स्थानीय, प्रादेशिक तथा सङ्घीय निर्वाचन भएदेखि फरक वातावरण बन्दै गएको छ । प्रायः सबैजसो राजनीतिक दलले आफ्ना घोषणापत्रमा विकास, निर्माण र समृद्धिलाई अभिन्न अङ्ग बनाएका छन् । राजनीतिक भाषणबाजीले मात्रै मुलुकलाई उन्नतिपथमा लम्काउन नसकिने ज्ञान ढिलै भए पनि राजनीतिक दलमा आउनुलाई सुखद पाटो मान्नुपर्छ । आर्थिक विकास विना कुनै पनि राजनीतिक प्रणाली टिकाउ नहुने कुरो प्रमाणित भइसकेको छ । संविधान फेरिँदैमा, पद्धति परिवर्तन गरिँदैमा प्रगति हुँदो हो भने अहिलेसम्म नेपालले पिछडिएकै अवस्थामा थन्किरहनुपर्ने थिएन । साँच्चै विकास मात्रै होइन, समृद्धि नै हासिल गराउन सक्नेगरी बलियो सरकार बनेको छ ।
सङ्घीय सरकार मात्रै होइन, प्रादेशिक सरकार तथा स्थानीय सरकार समेत आशालाग्दा छन् । एक वर्षसम्म खासै केही गर्न नसकेको आलोचना रहे पनि स्थानीय सरकारको अवस्थिति र तङ्ग्रिंदै बढेको स्थितिले जनाशा घटाएको छैन । सङ्घमा दुई तिहाइ बहुमतको सरकार हुनुले भनाइ र गराइमा एकरूपता कायम हुने आशा देखाएको छ । तर विगतका बेथितिको डुंगुरमा कतै समृद्धिको सपना कुहिरोमै हराउने त होइन ? आशङ्का पनि रहेकै छ । जनविश्वास आर्जन गर्नेतर्फ व्यावहारिक धरातलमै सृदृढ पाइला सर्नु अहिलेको आवश्यकता हो ।
जलमार्ग, रेलमार्ग, रज्जुमार्ग, ऊर्जा विकास, पर्यटन, आधुनिक कृषिलगायत अनेक योजना, कार्यक्रम अघि सारिएका छन् । भारतको रक्सौलबाट काठमाडौं पुग्ने रेल होस् वा चीनतर्फको केरुङबाट काठमाडौं अनि पोखरा र लुम्बिनी पुग्ने रेल होस् अथवा पूर्व–पश्चिम रेलमार्गको कुरो किन नहोस्, जनअपेक्षा बढेको स्थिति छ । स्वदेशभित्र तथा छिमेकीदेशसँग ‘कनेक्टिभिटी’ बढ्नुलाई समृद्धिको आधार मान्न सकिनेमा दुईमत छैन । ‘कनेक्टिभिटी’सँगै यहाँको ‘प्रोडक्टिभिटी’ पनि बढ्नुपर्ने छ ।
समृद्धशाली नेपाल र सुखी नेपालीको नारा जति आकर्षक छ, यसलाई अर्थवान् तुल्याउनुपर्ने काम उत्तिकै कठिन, जटिल र चुनौतीपूर्ण छ । उर्लाइएको चाहना अनुरूप सङ्घीय बजेट आयो÷आएन भन्ने चर्चा पनि चलिरहेकै छ । पूर्ण कार्यान्वयन हुनसके यसले सकारात्मक लक्षण देखाउने जिकिर पनि छ । पुराना बेथिति नमेटिएसम्म जतिसुकै राम्रा योजना, कार्यक्रम भए पनि हात्ती आयो, हात्ती आयो फुस्सा हुने निश्चित छ । त्यसैले होला, बेथिति हटाउनेतर्फ पहल पनि भएको देखिन्छ । यातायात क्षेत्रको ‘सिन्डिकेट’ हटाइनुले शुभसङ्केत देखाएको छ । आँटीलाई बाघले नखानेरहेछ, प्रमाणित भएसँगै अन्य क्षेत्रमा रहेका सिन्डिकेट, कार्टेलिङ पनि रोकिनुपर्ने आवाज घन्कँदो छ ।
समृद्धिसँगै जोडिएर आउने सुशासन नेपालको राजनीतिमा सर्वाधिक प्रचलित शब्द हो, जसको कार्यान्वयनमा क ख रा समेत नथालिएको जनानुभूति छ । विगतका राजनीतिक प्रणालीभन्दा अहिलेको पद्धति फरक हुनुको दृष्टान्त प्रस्तुत गर्न विधिको शासन आवश्यक छ । नेताप्रधान होइन, नीतिप्रधान परिपाटी अनिवार्य बनेको छ । नेतृत्व वर्ग तेरो, मेरोको रोगबाट मुक्त हुन नसकेकैले विगतमा घात, अन्तर्घात र प्रतिघातका काण्ड, प्रकाण्ड चले र त्यसको शिकार मुलुकका विभिन्न क्षेत्रले हुनुप¥यो । मुलुक पछौटेपनमा रहनुको दोषभागी सबैले हुनैपर्छ र त्यसको प्रायश्चितका लागि पनि अहिले स्वर्णिम अवसर जुटेको छ । तसर्थ, हरेक नेपालीका थाप्लामा रहेको झन्डै २४ हजार रुपियाँको ऋणको भार हटाई समृद्धिको अनुभूति दिने काममा के सत्तापक्ष, के विपक्ष सबै दल अहोरात्र खट्नैपर्छ ।
जनताका सपना, शहीदका सपना साकार पार्ने घडीमा समृद्धिका दिशामा काम हुन सकेन भने जनवितृष्णा बढ्दै जानेछ । यसो हुनु परिवर्तनकामी कुनै पनि दलका लागि ठीक होइन । ‘पुनर्मूषिको भवः’ को स्थिति आउन सक्छ । त्यसकारण निःस्वार्थ भावले समर्पणका साथ समृद्धिको महायज्ञमा समाहित हुनु हरेक नेता, कार्यकर्ताको कर्तव्य बनेको छ । भ्रष्टाचारको थोरै गन्ध आउँदा पनि ‘तँलाई होस् मलाई’ कारबाही हुनैपर्छ । समृद्धिलाई केवल मुखशोभाको पद मान्ने हो भने विगत मात्रै होइन, आगत पनि कष्टकर नै ठहरिनेछ ।