शाहरुखलाई पर्दामा पुड्काे देखाउने जिम्मा ४०० जनालार्इ

बागलुङ, २६ जेठ – बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेलो फिल्म जेरो को छायाँकनमा व्यस्त छन् । शाहरुख यस फिल्मको छायाँकनका लागि अमेरिकामा छन् । खबरअनुसार फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा गरिँदैछ ।
फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्काे देखाउनका लागि  ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको छ । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्स (VFx)को जिम्मा लिएको छ । यस फिल्मका लागि ४०० जना भिएफएक्स आर्टिस्टहरुले काम गरिरहेका छन् ।
यो बाहेक अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ। खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगाे फिल्म हुने बताइएको छ । फिल्म जेरो मा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ ।