रघुगंगामा विकास निर्माणको काम ७५ प्रतिशत

म्याग्दी, २६ जेठ– जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा आर्थिक बर्ष २०७४÷७५ को विकास निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । स्थानीय सरकाबाट निर्वाचित जनप्रतिनिधिको सक्रियताले आर्थिक बर्षको विकास निर्माणले तिव्रता पाएको हो । आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजित ५० लाख बजेटले साना ठुला ३९ ओटा योजना निर्माण गरको थियो । सो मध्य १६ ओटा योजनाको काम सम्पन्न भएको छभने अन्य २४ ओटा योजनाहरु सम्झौतासंगै तिव्र रुपमा काम गर्दै योजनाहरु अन्तिम चरणमा पुगेको वडा अध्यक्ष जीवन मल्लले जानकारी दिए ।
वडाबाट शिक्षा, स्वास्थ्य, सडक, खेलकुद मैदान, खानेपानी, विद्यालयको भवन, आमासमुह, सामुदायिक भवन लगायतको क्षेत्रमा भएको विकास निर्माणको अवस्था, कामका गतिविधिबारे विहिबार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको टोलीले अनुगमन गरेको थियो । ५ सय घरधुरीले लाभान्वित हुने गरि पिप्ले खानेपानी आयोजनाको मर्मत ७ लाख २० हजारमा सम्पन्न भएको छ । बिहिबार बगैचा, रानीपौवा मार्छखक सडक, पिप्ले खेलमैदान, वडा कार्यालय, तिन ओटा विद्यालय, मौवाफाँट फुलबारी, कलेजबाङ स्तरोन्नती सडक लगायतकोे स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष कमला तिलिचा, प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाई, वडा अध्यक्ष मल्ल, वडा सदस्य लगायतको टोली रहेको थियो । अध्यक्ष भण्डारीले विकास निर्माणका कामलाई असार पहिलो साता सम्पन्न हुने गरि सम्झौता गरिएका योजनालाई सम्पन्न भएका योजनाको अवस्था, सम्पन्न नभएका योजनालाई छिटो छरितो सम्पन्न गर्नका लागि अनुगमनलाई तिव्रता दिएको बताए । जनप्रतिनिधिको साचो र जनतामा विकासको चाहनाले विनियोजित बजेटबाट विकास निर्माणका योजनाहरुमा बजेट नपुगेपनि समुदायको जनश्रमदान र चन्द्र संकलनबाट काम सम्पन्न गरेका छन् । असारे विकासलाई अन्त्य गर्ने लक्षले गाउँपालिकाले दिएको सक्रियताले ८० प्रतिशत योजना सम्पन्न भएको छ । जिल्लामा विगतमा हुने गरेको असारे विकासलाई अन्त्य गदै विकास निर्माणमा स्थानीय तहका निर्वाचित सरकारले गौरवका योजना छनोटका लागि सुझाव संकलनलाई तिव्रता दिएको छ ।