टुनीबोट-सेरा सडक स्तरोन्नती गरियो

बागलुङ कुश्मीशेरा सडक खण्डको जुम्लीखोलाको उकालोमा ३६ मिटर ढलान गरेर बाटो सहज

बागलुङ, २६ जेठ– जिल्लाको जैमिनी नगरपालिकाले बागलुङ कुश्मीशेरा बरेङ सडकखण्डको स्तरोन्नती गरेको छ । बागलुङ नगरपालिकाको सिमाना रहेको कुश्मीशेराको टुनीबोटदेखी टिमुरेखोला सम्मको बाटो स्तरोन्नती गरिएको नगरपालिकाले जनाएको छ । बिग्रीएको बाटोमा सोलिङ गर्ने र साँघुरो सडकलाई फराकिलो पार्ने काम सकिएको उपभोक्ता समितीका अध्यक्ष बिष्णु प्रसाद आचार्यले बताए । सडक बिभाग, सडक बोर्डको २५ लाख रुपैयाँ र जैमिनी नगरपालिकाको श्रमदानसहित १० लाख रुपैयाँको लागतमा सडकको स्तरोन्नती गरिएको हो । सडकको स्तरोन्नतीका लागि बनेको उपभोक्ता समितीले ६ सय मिटर सोलिङ, २४ स्थान ग्याबीन र ३६ मिटर ढलानको काम सकेको जनाएको छ ।
बर्षातमा बाटो बिग्रिएका कारण बनेका खाल्डाखुल्डीमा सोलिङ गरिएको छभने बागलुङ कुश्मीशेरा सडक खण्डको मुख्य समस्याको रुपमा रहेको जुम्लीखोलाको उकालोमा ३६ मिटर ढलान गरेर बाटो सहज बनाईएको नगरपालिकाले जनाएको छ । ‘अबको बर्षातमा उकालोमा रहेको हिलोका कारण सवारीलाई सास्ती नहुने गरी काम गरिएको छ’ अध्यक्ष आचार्यले भने ‘अप्ठ्रयारो ठाउँहरु सबैमा सोलिङ गर्ने र फराकिलो बनाउने काम भएकाले हिउँद बर्षात दुवै समयमा सवारीलाई सहज हुने छ ।’ बजेटको अभावका कारण अझै कतिपय ढलान गर्नुपर्ने ठाउँहरु छुटेको भएपनि धेरै ठाउँमा बाटो सहज भएको आचार्यले बताए ।
जुम्लीखोलाको उकालोमा रहेको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको भय रहेको थियो । ‘भिरालो जमिन र पहराका कारण स्तरोन्नतीमा निकै कठिन रहेको जुम्लीखोलामा ढलान नै गर्नुपर्ने अवस्था थियो’ समितीका सदस्य रुद्रनाथ शर्माले भने ‘अब सवारीलाई जोखिम घटेको छभने बाटो पनि फराकिलो बनाईएको छ ।’ दुई महिना पहिलाबाट काम सुरु गरेको उपभोक्ता समितीले छोटो समयमा काम सकेको हो । स्थानिय श्रमदान गर्नुपर्ने ३० प्रतिशत काम बाँकी रहेको भएपनि नगरपालिका र सडक बोर्डको बजेटबाट गर्ने गरि स्टमेट भएका सबै काम सकिएको शर्माले बताए । सडकको स्तरोन्नतीको लागि उपभोक्ता सपमितीले उक्त रुटमा यातायात आवतजावतमा रोक लगाएर काम गरेको थियो ।