जनताको विश्वास कायम राख्नुपर्छ जनप्रतिनिधिले-प्रम ओली

सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड

विराटनगर, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन्। विराटनगरस्थित प्रदेश १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिएका हुन्।
ओलीले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोडसमेत दिए। जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,’संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रुपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने संकल्पका साथ अगाडि बढ्न सुझाव दिए।