ढोकामा लगाउने आग्लो प्रहारबाट फलेवासका सूर्य सुनारको मृत्यु

बिनोद बिक्रम कुँवर र उनकी श्रीमती राधिका शनिबार पक्राउ

पर्वत, २६ जेठ-फलेवास नगरपालिका-२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ। स्थानीय थापाठाना बजारका बिनोद बिक्रम कुँवरको आग्लो प्रहारबाट थापाठाना खनारका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए।
मादक पदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले बिनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक यमबहादुर नेपालीले जानकारी दिए। झगडाकै क्रममा बिनोदले सूर्यलाई धेरै पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
झगडाका बेलामा छुट्याउने क्रममा घाइते भएका सुनार र उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि शुक्रबार नै पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो। अभियुक्त बिनोदलाई शुक्रबार राती नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने बिनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानको लागि शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।