आयात उच्च र निराशाजनक निर्यातले व्यापार घाटा सवा ९ खर्ब

अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ
काठमाडौँ, २६ जेठ – आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरूबाट ९ खर्ब ८२ अर्ब ५४ करोड ५९ लाख ४४ हजार रुपैयाँका सामग्रीहरू आयत भएका छन् ।
……………………..
जम्मा निर्यात– आयातको ६ दशमलव ७८ प्रतिशत (६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार)
भारतसँग– ६ खर्ब ११ अर्ब १९ करोड ७१ लाख ७५ हजार
चीनसँग– १ खर्ब २४ अर्ब ९१ करोड ७० लाख ८९ हजार रुपैयाँ
आयात/निर्यात भएका मुलुक– १ सय ५२
व्यापार घाटा भएका मुलुक– १ सय २८
आयात वृद्धिदर– २१ दशमलव ७१ प्रतिशत
निर्यात वृद्धिदर– ९ दशमलव ३४ प्रतिशत मात्रै
…………………….
आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात् ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । निर्यात वृद्धिदर ९ दशमलव ३४ प्रतिशत मात्रै छ भने आयात २१ दशमलव ७१ प्रतिशत छ । यो तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासहरूले सार्थकता पाउन सकेका छैनन् भने मुलुक आयातमा झन् बढी निर्भर रहेको देखिन्छ ।
स्वदेशी उत्पादन वृद्धि तथा प्रवर्द्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको छ । साउनदेखि वैशाखसम्ममा सबैभन्दा बढी १ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँको इन्धन आयात भएको छ । दोस्रो बढी आयात हुने सामग्री मेसिनरी उपकरणका पार्टपुर्जाहरू हुन् । जसमा १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर खर्च भएको छ । करिब एक खर्ब बराबरका फलाम तथा स्टिल सामग्रीहरू आयात भएका छन् । ६८ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारी साधन आयत भएका छन् । त्यस्तै विद्युतीय सामग्री ६३ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ ।
सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतबाट १० महिनामा ६ खर्ब ४९ अर्ब ३४ करोड ६२ लाख ८२ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् । निर्यात भने ३८ अर्ब १४ करोड ९१ लाख ७ हजार रुपैयाँ मात्र भएको भारतसँगको व्यापार घाटा ६ खर्ब ११ अर्ब १९ करोड ७१ लाख ७५ हजार रुपैयाँ पुगेको छ । दोस्रो बढी व्यापार घाटा हुने मुलुक चीन हो । चीनबाट १ खर्ब २७ अर्ब ५८ करोड ६५ लाख ६३ हजार रुपैयाँको आयात भएको छ भने चीनतर्फको निर्यात २ अर्ब ६६ करोड ९४ लाख ७४ हजार रुपैयाँ मात्रै भएको छ । उक्त कारणले चीनतर्फको व्यापार घाटा १ खर्ब २४ अर्ब ९१ करोड ७० लाख ८९ हजार रुपैयाँ भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चीनपछि व्यापार घाटा बढी हुने मुलुकहरूमा इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, अर्जेटिनालगायत मुलुकहरू छन् । व्यापार घाटा हुने मुलुकहरूमा प्राय: भारत र चीन पहिलो देस्रो देखिए पनि तेस्रो र चौथो मुलुकहरू भने फरकफरक हुने गरेका छन् ।
दस महिनामा १ सय ५२ मुलुकहरूसँग नेपालले विभिन्न सामग्री आयात/निर्यातको कारोबार गरेको छ । यसमध्ये १ सय २८ मुलुकमा निर्यातभन्दा आयात बढी भई व्यापार घाटा भएको छ । बाँकी २४ मुलुकहरूमा भने आयातभन्दा निर्यात बढी गर्न सफल भएको छ । तर, त्यस्तो निर्यात रकम भने निकै कम अंकमा छ । निर्यात बढी भएको रकम निकै न्यून भएकाले व्यापार घाटाको अंकलाई यसले खासै असर पार्दैन ।
१० महिनासम्म भएको व्यापार घाटा र निर्यातको यो तथ्यांकले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । सरकारले व्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयासहरू गरे पनि उपलब्धि भने हासिल हुन सकेको छैन । सरकारले हरेक वर्ष आयात प्रतिस्थापनका कार्यक्रमहरू सार्वजनिक गर्ने गरेको छ ।
आगामी वर्षको बजेटमा पनि निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनका लागि थुप्रै सुधारका योजनाहरू अघि सारिएको छ । यसबाहेक वार्षिक विकास कार्यक्रम, बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँनयाँ कार्यक्रम सार्वजनिक गर्छन् । तर, ती कार्यक्रमको सम्भाव्यता, प्रभावकारिता र अनुगमन भने सधैं फितलो हुने गरेको छ । व्यापार घाटा कम र निर्यात प्रवर्द्धनका लागि सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र स्थापना पनि गरेको छ ।
मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवर्द्धनात्मक कार्यक्रमसमेत भइरहेका छन् । हालसम्म तुलनात्मक लाभका १२ सहित निर्यात सम्भावनाका नेपाली सामग्री २४ वटा हुन् । तर, तथ्यांकअनुसार तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक छ ।