‘खासमा मलाई डिएसपी ठुले राईसँग साट्ने कुरा रहेछ’

जेल अनुभव-भोलिपल्ट बिहानै गृह मन्त्रालय लगे

यसरी पक्राउ परेँ म
पार्टीले ०५२ फागुन १ गते जनयुद्ध घोषणा ग-यो । हामी तयारीमा लागेका थियौँ । ०५३ असार ३ को कुरा हो । गोरखामा अगुवा पार्टी प्रशिक्षण कार्यक्रम राखिएको थियो । रातारात त्यहाँ पुग्यौँ । पुगेपछि मात्र त्यो छोप्राक भन्ने ठाउँ भएको थाहा भयो । कार्यक्रम सकेर उज्यालो नहुँदै निस्कने योजना थियो । तर, कार्यक्रम सकिँदा बिहानको ५ बजिहाल्यो । प्रहरीले सिठी फुक्यो । कार्यक्रमस्थल पूरै घेरिसकेको रहेछ । हामी अत्तालियौँ । साथीहरूको भागाभाग भयो ।
म भुइँमा लडेछु । साथीहरूले भाग्ने क्रममा मेरो आङमा पनि टेके । माथिल्लो तलामा भएकाले कोही साथीहरू पिँढीबाट, कोही ढोकाबाट भागे । मैले केही सोच्नै सकिनँ । यति नै वेला प्रहरी आएर गिरफ्तार ग-यो । ढोकामै पुगेका भक्ति लामिछाने पनि पक्राउ पर्नुभयो । गिरफ्तार भएको आधा घन्टापछि छ्यांग उज्यालो भयो । त्यसपछि हामीलाई गोरखा सदरमुकाम लगियो । त्यहाँ विभिन्न ढंगले बयान लिने काम भयो ।
कतिपय विषय उनीहरूको कानुनमा मिलाउनुपर्ने थियो होला । बयान लेख्नेले बढाइचढाई गरेर लेखिरहेका थिए । २४–२५ दिन हिरासतमा राखे । कसैलाई भेटघाट गर्न दिएनन् । जनयुद्ध नै घोषणा गरिसकेकाले यातना दिनु स्वाभाविक थियो । प्रहरीले डोमिनेसन गरेजस्तो लाग्यो ।
यस्तो भएपछि मैले डिएसपी, एसपीलगायतसँग वैचारिक विषय जोडेर आफ्ना कुरा राखेँ । सुरुसुरुमा प्रहरीको व्यवहार फरक थियो । पछि मैले आफ्ना कुरा राख्न थालेपछि प्रहरी अफिसरले नराम्रो व्यवहार गरेनन् । राजनीतिक रूपमै सम्मान गर्न खोजेको अनुभव भयो ।
गोरखाबाट महोत्तरी सरुवा
हिरासतबाट गोरखा कारागार लगे । त्यहाँ हाम्रा अरू साथी पनि हुनुहुँदोरहेछ । साथीहरूसँग बहस र छलफल हुन थाल्यो । आफन्त र पार्टी शुभचिन्तक भेटघाटका लागि गेटसम्म आउन थाले । प्रहरीले पार्टीको गतिविधि र प्रचार गरेको भन्ने बुझेछ । डेढ महिनापछि वीरगन्ज जेल पु-याए ।
वीरगन्जमा करिब दुई महिना राखियो । जेलमा नाइकेबाट दुव्र्यवहार गर्न थालेको अनुभूति भयो । मैले जेलको सुधारसँगै सरसफाइलगायत समस्या उठाउन थाले । दुई महिनापछि सीधै केन्द्रीय कारागार ल्याए । केन्द्रीय कारगारको गोलघरमा चार महिनाजति राखे । बिस्तारै जेलहरूमा सम्बन्ध सहज हुँदै गयो । जेलर नारायण रिजाल वैचारिक रूपमा नजिक भएकाले पनि केही सहज भएको हो ।
जेलरसँग सम्बन्ध राम्रो भए पनि नाइके भाइ, नाइकेसँग थोरै टकराव पर्ने रहेछ । उनीहरूले आफ्नै किसिमको शासन लाद्न खोज्थे । हामी समानता, सम्मानका साथ हिँड्न खोज्ने । त्यहाँ पनि भाँडभैलो भएपछि भद्रगोल सारिदिए । भद्रगोलमा आन्तरिक प्रशासन अन्यको तुलनामा कडा रहेछ । धेरै थिचोमिचो हुने । असह्य भएपछि हामीले आलोचना ग-यौँ । फेरी गोलघरमा हाले ।
पछि मलाई धेरै काठमाडौं राख्नुहुँदैन भन्ने कुरा आएछ । त्यसपछि नख्खु हुँदै महोत्तरीको जलेश्वर लगे । त्यहाँ भेटघाट तथा बाहिर सम्पर्क गर्न नदिइँदोरहेछ । त्यहाँँ लामै समय राखे । कैदीबन्दीसँग घुलमिल हुँदै गयो । एमाले कार्यकर्ता पनि थिए ।
एक किसिमको राजनीतिक वातावरण बन्यो । छलफल बढ्दै गयो । त्यहाँ बस्दा मधेसको समस्याको विषयलाई लिएर किताब लेख्ने विचार पलायो । मधेसको भाषा, संस्कृति, रीतिरिवाज, परम्परा, मूल्य, मान्यतालाई समेटेर पुस्तक लेख्ने तयारीमा लागेँ । कैदीबन्दीसँग प्रश्न–उत्तरका माध्यमले सहयोग लिने सोचेँ ।  त्यसपछि मधेसका साथीहरूसँग पनि घुलमिल हुँदै गयो ।
जलमग्न जेल
वर्षाको मौसम थियो । गर्मी धेरै । पानी परेकोप-यै भयो । इनार, पम्पहरू डुुबानमा परे । फोहोर पानी आउन थाल्यो । जेलको तल्लो तला जलमग्न भयो । खाना पकाउने ठाउँसमेत भएन । अधिकांश कैदीबन्दी बिरामी परे । बाहिरबाट औषधि ल्याउने अवस्था थिएन ।
गेटमा धेरै पानी जम्मा हुँदा आउन–जान कठिन थियो । भित्रको मान्छे भित्रै, बाहिरको बाहिरै भयौँ । एकजना हेल्थ असिस्टेन्ट ज्यान मुद्दामा परेका रहेछन् । उनीसँग सामान्य औषधि रहेछ । त्यही औषधि प्रयोग गरेर उपचार गरे । पछि त उनी आफैँ बिरामी परे  । मलाई पनि टाइफाइडले भेट्यो । १०–१५ दिन बिरामी परेँ ।
जेलबाटै स्नातकोत्तर
मैले काठमाडौं बस्दा राजनीतिशास्त्रमा स्नातकोत्तर तहको परीक्षा दिइसकेको थिएँ । दोस्रो वर्षको परीक्षाको तयारी गर्नुपर्ने भएकाले काठमाडौं लगिदिन अनुरोध गरेँ । काठमाडौं ल्याइयो । परीक्षा दिन पाएँ । जेलबाटै स्नातकोत्तर पूरा गरेँ । जेलमा बसेको चार वर्षभन्दा धेरै भइसकेको थियो ।
त्यही समयमा कारागार प्रशासनका निर्देशक आएर मलाई छाड्ने प्रक्रिया सुरु भएको बताए । मैले विनासर्त रिहा गरिए मान्ने, नत्र कुनै नाजायज राजनीतिक आरोप लगाइएको कागजमा हस्ताक्षर नगर्ने बताएँ । मेरो कुरा सुनेपछि निर्देशक हिँडे । त्यतिवेला गृहमन्त्री पूर्णबहादुर खड्का थिए ।
यसरी छुटेँ
अर्को दिन पनि उनै निर्देशक भेट्न आए । मेरो मुद्दा छिटै फैसला हुन लागेको बताए । धरौटीमा छाड्ने कुरा रहेछ । मैले ३०–४० हजार धरौटी तिर्न नसक्ने कुरा बताएँ । निर्देशकले त्यो व्यवस्था आफूहरूले गर्ने बताए । खासमा मलाई डिएसपी ठुले राईसँग साट्ने कुरा रहेछ ।
एक दिन प्रहरीले मलाई गोरखा जानुपर्ने बताए । अदालत हुँदै सिडिओकोमा लगे । त्यहाँबाट विधिवत् रूपमा छाडियो । तर, प्रहरीले फेरि काठमाडौं पु-याउनुपर्ने बतायो । उनीहरूकै व्यवस्थामा बस्नुपर्ने भयो । भोलिपल्ट बिहानै गृह मन्त्रालय लगे ।
गृहसचिव पदमप्रसाद खरेलले एउटा समझारी गरेर रिहा गरेको बताए । मैले उनीसामु धन्यवाद टक्र्याएँ । भनेँ, ‘राजनीतिक आस्था र विश्वासका हिसाबले जे छ त्यसलाई दाँया–बाँया गर्न सक्दिनँ । त्यही ढंगले लाग्ने हो । आगामी दिनमा संवाद र सहमति चली नै रहला ।’
म जेलमा भएका वेला ठुले राईलाई रुकुमको महत गाविसबाट पक्राउ गरिएको रहेछ । उनी तत्कालीन माओवादी प्रभावित इलाकामा खटिएका रहेछन् । पछि पार्टीले मलाई छाड्ने सर्तमा उनलाई छाड्ने समझदारी गरेछ ।
त्यसैअनुरूप ०५७ को अन्तिमतिर म छुटेँ । हाम्रो रिहाइसँगै वार्ताको वातावरण पनि बन्यो । जेलमा रहँदा यस कुराको संकेत पाइसकेको थिएँ । भेट्न आउने साथीहरूबाट बुझ्न खोज्दा कांग्रेस नेता दुर्गा सुवेदीहरूले यसका लागि पहल गरेको थाहा भयो । छुटेपछि तत्कालीन एमाले नेता अशोक राईले पनि पहल गरेको थाहा पाए ।
प्रचण्ड भेट्न लखनउ
रिहा भएपछि अध्यक्ष प्रचण्डबाट भेट्न जानुपर्ने खबर आयो । उहाँलाई भेट्न गोरखपुरतिर लागेँ । उहाँसँग पार्टीको आन्तरिक राजनीतिक विषयमा कुरा भयो ।
जेलबाट छुटेको ६ महिनादेखि एक वर्षसम्म पार्टीको कुनै खालको जिम्मेवारी नलिने समझादारी थियो । रेस्टमै बस्नुपर्ने भयो । अध्यक्षकै नजिक भएर राजीतिक बहस, छलफल गर्न थालेँ । ०५८ को अन्तिमतिर मात्र पोलिटब्युरो सदस्यका रूपमा पार्टीको जिम्मेवारी लिएँ ।
ठुले राईसँगको भेट
ठुले राईसँग जनयुद्धकै क्रममा भेट हुने कुरा भएन । पछि उनी डिआइजी भएपछि भेट भयो । भेटमा पुराना कुरालाई सम्झियौँ । भावनात्मक खालका अनुभूति साटासाट भयो । हाम्रो स्वभाव मिल्ने रहेछ । दुवैजना अन्तरमुखी । आवश्यक कुरा मात्र बोल्ने । त्यसैमा पनि दुवै जनजाति । जनजाति आफैँमा पनि कम बोल्ने हुन्छ । त्योभन्दा पहिला कामको सन्दर्भमा फोनमा कुरा भएको थियो । त्यतिवेला उहाँ तराईको कुनै जिल्लामा कार्यरत हुनुहुन्थ्यो । प्रस्तुती विरेन्द्र ओली