भारतीय बजारमा दुई योगीको भिडन्त

भारतको फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) को बजारमा आमनेसामने

नयाँदिल्ली, २७ जेठ – आध्यात्मिक दर्शन, योग र आयुर्वेदको प्रचारप्रसारमा श्रीश्री रविशंकर र स्वामी रामदेवको विशिष्ट योगदान र पहिचान छ । उनीहरूको भारतमा मात्र नभई अन्य मुलुकमा लाखौं भक्त र अनुयायी छन् । यिनै दुई योगी भारतको फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) को बजारमा आमनेसामने हुने भएका छन् ।
यसअघि सीमित सपिङ मल र अनलाइनमा मात्र आफ्ना उत्पादनको प्रवद्र्धन गर्दै आएको रविशंकरको श्रीश्री आयुर्वेदाले समेत बजार बिस्तारमा आक्रामक रणनीति लिने घोषणा गरेसँगै रामदेवको पतञ्जली र रविशंकरको श्रीश्री तत्त्वबीच प्रतिस्पर्धा हुने भएको हो । यी दुई ब्रान्डका उत्पादनको प्रकृति पनि समान प्रकारका छन् । दुवैले प्राकृतिक, आयुर्वेदिक र हर्बल सामग्री उत्पादन गर्छन् । श्रीश्री आयुर्वेदाले यस वर्ष बजार प्रवद्र्धन गर्न २ सय करोडभन्दा बढी खर्च गर्ने जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले आयुर्वेदिक र हर्बल उत्पादनको बजार प्रवद्र्धनका लागि सञ्चारमाध्यम, आउटडोर विज्ञापन लगायतमा खर्च गर्नेछ । जसबाट कम्पनीको १ हजार स्टोर खोल्ने योजनालाई पनि सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ । पतञ्जलीको जस्तै श्रीश्री आयुर्वेदाका उत्पादनमा दन्तमञ्जन, साबुन, घ्यू, जुस र बिस्कुट प्रमुख छन् ।
श्रीश्री आयुर्वेदाको पछिल्लो घोषणासँगै भारतको एफएमसीजी बजारमा ठूलो तरंग ल्याउने अनुमान विश्लेषकहरूले गरेका छन् । ठूला बहुराष्ट्रिय कम्पनीहरूलाई स्वामी रामदेवको कम्पनी पतञ्जलीले कडा चुनौती दिइरहेका बेला श्रीश्री रविशंकरको श्रीश्री आयुर्वेदा पनि आक्रामक बजार बिस्तारमा अघि बढेको हो । ‘यो वर्ष हाम्रो जोड व्यापार बिस्तारमा हुनेछ र त्यसका लागि निश्चित रूपमा हाम्रा विज्ञापनहरू बढी आक्रामक, स्वस्थ्य र विगतका भन्दा पृथक् हुनेछन्,’ श्रीश्री आयुर्वेदा (एसएसए) प्रमुख कार्यकारी तेज कटपिटियालाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक ‘द इकोनोमिक्स टाइम्स’ ले जनाएको छ । बजार प्रवद्र्धनमा खर्च गर्ने भनिएको २ सय करोड भारतीय रुपैयाँ टेलिभिजन र अन्य उपलब्ध मनोरञ्जनका माध्यममा समेत खर्च हुने बताइएको छ । यसैगरी कम्पनीले यसै वर्ष पतञ्जलीले जस्तै क्लिनिक र उपचार केन्द्र पनि खोल्ने जनाएको छ । कम्पनीले भारतमा रहेका विभिन्न ३ उद्योगबाट करिब ३ सयभन्दा बढी घरायसी उपभोग्य सामग्री उत्पादन गर्ने जनाएको छ ।
श्रीश्री तत्त्वले हालै भएको इन्डियन प्रिमियर लिगको समयमा टेलिभिजन विज्ञापनमा १० करोडभन्दा बढी खर्चेको थियो । त्यसमध्ये ४ करोड व्यक्तिगत प्रशाधन सामग्रीको, ३ करोड दन्तमञ्जन र ३ करोड खाद्यवस्तुको विज्ञापनका लागि खर्च गरिएको थियो । व्यक्तिगत प्रशाधन र खाद्य सामग्रीमध्ये कम्पनीले विशेष गरी फेस वास, क्रिम, लोसन, स्याम्पू, घ्यू, चामल र अन्य अगार्निक उत्पादनको बजार बिस्तारमा केन्द्रित गर्ने योजना बनाएको द इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । त्यसो त कम्पनीले सन् २००३ देखि नै हेल्थ ड्रिंक्स, मसला, साबुनलगायतका उत्पादन ठूला सपिङ मल र अनलाइनमार्फत बेच्दै आएको थियो । योगगुरु रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले त पछिल्लो एक दशकमा भारतको एफएमसीजीको बजारमा ठूलै हलचल ल्याएको छ । एक दशकअघि एउटा सानो आयुर्वेदिक कम्पनीका रूपमा रहेको पतञ्जली हाल भारतकै सबैभन्दा ठूलो एफएमसीजी उत्पादक कम्पनीका रूपमा उभिएको छ ।
गतवर्ष मात्र कम्पनीले १० हजार करोड भारतीय रुपैयाँको कारोबार गरेर उपभोक्ता बजारमा आफूलाई पहिलो नम्बरमा उभ्याएको थियो । कम्पनीले सन् २०२० भित्र विश्वकै सबैभन्दा ठूलो एफएमसीजी ब्रान्ड बन्ने लक्ष्यसमेत राखेको छ । पतञ्जलीको बढ्दो व्यापारबाट ठूला र पुराना बहुराष्ट्रिय कम्पनीसमेत दबाबमा पर्न थालेका छन् । पतञ्जलीको बजारकै कारण हिन्दुस्थान युनिलिबर, डाबरजस्ता बहुराष्ट्रिय कम्पनीले समेत आयुर्वेदिक उत्पादनमा ध्यान केन्द्रित गर्दै लगेका छन् । भारतमा हर्बल र आयुर्वेद व्यक्तिगत प्रशाधन सामग्रीको मात्र वार्षिक १८ हजार ५ सय करोडको व्यापार हुने गरेको छ । जुन भारतको कुल व्यक्तिगत प्रशाधन सामग्रीको बजारको करिब ४१ प्रतिशत हो ।
नेपालमा पनि पतञ्जलीले छोटो समयमै एफएमसीजी बजार राम्रो उपस्थिति देखाउन सफल भएको छ । पतञ्जलीले २ वर्षअघिदेखि नै नेपालबाट पनि उत्पादन सुरु गरिसकेको छ । रामदेवको पतञ्जली योगपीठ र गैरआवासीय नेपाली उद्यमी उपेन्द्र महतोको साझेदारीमा बाराको सिमरामा करिब १ अर्ब ६० करोड भारतीय रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगबाट करिब ४ दर्जनभन्दा बढी वस्तुहरू उत्पादन हुँदै आएका छन्। उद्योग उद्घाटनका क्रममा रामदेवले दस वर्षभित्र एक सय अर्ब लगानी गर्ने घोषणा गरेका थिए ।