कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई र लेखाई क्षमता बढाउने पढाई मेला सकियो

बागलुङ, २७ जेठ– कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई र लेखाई क्षमता बढाउने उद्देश्यले म्याग्दी र बागलुङका बालबालिकाबीच पढाई मेला तथा प्रतियोगिता सम्पन्न गरिएको छ । म्याग्दीका २५ र बागलुङका ३५ विद्यालयमा संचालन भएको पढाई विकास कार्यक्रमको प्रभाव मूल्यांकनका लागि मेला आयोजना गरिएको हो । शनिवार बागलुङमा आयोजित मेलामा ५ बिधामा १५ विद्यार्थीलाई उत्कृष्ठ छनौट गरेर पुरस्कार वितरण समेत गरियो । प्लान नेपालको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले संचालन गरेको पढाई विकास कार्यक्रमअन्र्तगत बालबालिकाको पढाई तथा लेखन शिप बढाउन यो मेला आयोजना गरिएको फाउण्डेसनका कार्यक्रम संयाजक नविन पन्तले जानकारी दिए । मेलामा आएका बालबालिकालाई समूह विभाजन गरेर तोकिएको समयमा पढ्ने र लेख्न सक्ने क्षमताको मूल्यांकन गरिएको थियो । म्याग्दीका शिक्षा विकास शाखा प्रमुख रामकुमार श्रेष्ठ र दुवै जिल्लाका विद्यालय निरिक्षक तथा श्रोत व्यक्तिलाई मूल्यांकन गर्न लगाएर बालबालिकाको प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा आउनु अघि बालबालिकाहरुलाई विद्यालयमै रमाएर पढ्ने लेख्ने बानीको विकास गर्ने, शुद्ध लेखन र पठन शिपको विकास गर्ने काम गरिएको छ । फाउण्डेसनको अगुवाईमा विद्यालय तहमा शिक्षकको क्षमता विकास गर्ने, बालबालिकालाई पढाउने तरिकाबारे सिकाउने र नेपाली भाषा समृद्ध बनाउने काममा सहजीकरण भैरहेको छ । ४० जना बालबालिका उपस्थित मेलामा सबैका अभिभावक र शिक्षक पनि उपस्थित थिए । उनीहरुकै रोहवरमा बालबालिकाको क्षमता परीक्षण गरिएको हो । पठन बेग, अनुलेखन, श्रुतीलेखन, पठनबोध र अंक टिप्ने खेल खेलाएर क्षमता परीक्षण गरिएको श्रेष्ठले बताए । ती प्रतियोगितामा स्वतन्त्र मूल्यांकन गरेर पुरस्कृत पनि गरिएको हो । यस्ता प्रतियोगिताले बालबालिकामा लेख्ने, पढ्ने तथा सुनेर लेख्ने, पढेर सम्झने लगायतका क्रियाकलाप गराईन्छ । यस्तो प्रतियोगिताका लागि तोकिएका प्रश्नपत्र तथा मूल्यांकन समिति बनाईन्छ । अभिभावकलाई समेत साथैमा राखेर आयोजना गरिने मेलामा अभिभावकले पनि बालबालिकाको मूल्यांकन गर्ने अवसर पाउँछन् ।
यो अभियानले अभिभावकलाई समय–समयमा विद्यालयमा आएर बालबालिकाको पढाई तथा सिकाई अवस्थाको मूल्यांकन गर्ने अवसर मिलेको अमलाचौरकी सृष्टी नेपालीले बताईन् । प्रतियोगिताको पठन बेगमा सन्तोष किसान प्रथम, आगमन सुनाम द्वितिय र असिम पौडेल तेस्रो भए । त्यस्तै पठन बोधमा अविस्कार बिक प्रथम, आयुस्मा शर्मा द्वितिय रएलन श्रीष तृतिय, अनुलेखनमा वृन्दा पुर्जा प्रथम, खुसी खत्री द्वितिय र दिपशिखा थापा तृतिय भए । त्यस्तै श्रुती लेखनतर्फ सरस्वती शर्मा प्रथम, वृन्दा पुर्जा द्वितिय र एलिस गर्बुजा तृतिय भए । अंक टिप्ने खेलमा दिप शिखा थापा प्रथम, सरस्वती शर्मा द्वितिय र खुसी खत्री तृतिय भए । फाउण्डेसनका कार्यकारी निर्देशक प्रमानन्द कंडेलको अध्यक्षता, लालबहादुर पुर्जाको संचालन र नविन पन्तको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा प्लान नेपालकी क्षेत्रीय प्रवन्धक नितु आचार्य र प्लान स्विजरल्याण्डकी प्रतिनिधिले शुभकामना दिएका थिए ।