अमेरिकी राष्ट्रपति ट्रम्प पनि पुगे सिंगापुरमा

वार्ताका लागि लाग्ने सम्पूर्ण खर्च सिङ्गापुर सरकारले बेहोर्ने

काठमाडौँ, २७ जेठ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । उत्तर कोरियाका नेता किम जोन उनसँग हुने शिखर वार्ताका लागि ट्रम्प सिंगापुर पुगेका हुन् । उत्तर कोरियाका नेता किम यसअघि नै सिंगापुरमा पुगिसकेका छन् । किम पुगेको केही घण्टापछि ट्रम्प सिंगापुर पुगेका हुन् । तर उनीहरुबीचको शिखर बैठक भने मंगलबार हुने तयारी रहेको छ ।
अमेरिकाले शिखर वार्तापछि उत्तर कोरियाको आणविक विस्तारै अन्त्य हुँदै जाने बताएको छ । गएको १८ महिनामा दुई नेताको सम्बन्धमा निकै टकराब आएको थियो । अन्तमा दुई नेताहरुबीच भेटवार्ता नै हुने भएको छ । उत्तर कोरियाका नेता किमले सिंगापुरका प्रधानमन्त्री लि हसिन लूङसँग भेटवार्ता गरेका छन् । ट्रम्पले पनि दुई देशको बैठकभन्दा अगाडि नै प्रधानमन्त्री लिसँग भेटवार्ता गर्ने जनाइएको छ । वार्ताका लागि लाग्ने सम्पूर्ण खर्च सिङ्गापुर सरकारले बेहोर्ने छ। दुवैपक्षको भ्रमण दलको सम्पूर्ण खर्च २ अर्ब लाग्ने सिङ्गापुर सरकारले जनाएको छ।