मंगलामा खानेपानी आयोजना निर्माण

म्याग्दी, २८ जेठ– मंगला गाउँपालिका–४ दुर्दीमा रु ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् । सबैको घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताए । विसं २०५२ मा निर्माण भएको आयोजनाको धारा जीर्ण हुँदा खानेपानीको समस्या झेल्दै आएका दुर्दीवासीको घरघरमा खानेपानी धारा जडान भएपछि राहत मिलेको अध्यक्ष फगामीले बताए ।