रोकिएको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आयो

म्याग्दी, २८ जेठ– चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुनः सञ्चालनमा आएको छ । मर्मत र चालकको व्यवस्था गरेपछि गत वर्षदेखि थन्किएको एम्बुलेन्स सेवा गत हप्तादेखि सञ्चालनमा आएको हो । रु एक लाख ४२ हजार खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी सभापति याममती रोकाले बताए । एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि मालिका, धौलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई सुविधा पुगेको छ । एम्बुलेन्स प्रयोगमा नआउँदा बिरामी ट्याक्सी रिजर्भ गरेर अस्पताल पुग्न बाध्य थिए । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पाँच वर्षअघि सदरमुकाम बेनी, उत्तरी क्षेत्रका लागि भुरुङ तातोपानी र पश्चिमी क्षेत्रका लागि दरवाङ उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । स्थानीय तह र सरोकारवाला संघसंस्थासँग समन्वय गरेर एम्बुलेन्सलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गरिने सभापति रोकाले बताए । दाताको सहयोगमा आएको एम्बुलेन्स बन्दा हुँदा स्थानिय मर्कामा थिए ।