पर्वतको फलेवासमा आग्लो प्रहारबाट एक जनाको मृत्यु

पर्वत, २८ जेठ– जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । मादकपदार्थ सेवन गरेका सूर्य र उनकी श्रीमतीले विनोदलाई गालीगलौज गरेपछि उनीहरूबीच झगडा भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक यमबहादुर नेपालीले जानकारी दिए । झगडाकै क्रममा विनोदले सूर्यलाई पटक पटक नबोल्न आग्रह गर्दा नमानेपछि ढोकाको आग्लो प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उपचारका क्रममा नै सूर्यको शनिबार मृत्यु भएको हो । अभियुक्त विनोदलाई शुक्रबार राति नै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ भने विनोदकी श्रीमती राधिकालाई पनि थप अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिइएको छ । यसैबिच पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो ।