बागलुङको गल्कोटले बनायो नगर शिक्षा योजना

बागलुङ, २८ जेठ– गलकोट नगरपालिकाले शिक्षाको बिकासमा लगानी बढाउने गरी पञ्चबर्षे शिक्षा योजना बनाएको छ । नगरपालिकाका पदाधिकारी,नगर शिक्षा अधिकारी र सरोकारवालले बनाएको योजनामा स्थानीय तहमा आउने बजनेटबाट २० प्रतिशत लगानी शिक्षामा गर्नुपर्ने प्रावधान राखेको छ । नगरपालिकाले सार्वजनिक गरेको योजनामा आगामी आर्थिक बर्षदेखि योजना कार्यान्वयनमा आउनेछ । नगर परिषदले उक्त योजना अनुसार बजेट पेश गर्ने तयारी गरेको प्रमुख भरत शर्मा गैह्रेले बताए । शिक्षा र स्वास्थ्यको सूचक उच्च बनाएपछि मात्र अन्य बिकासको अर्थ रहने भन्दै लगानीमा चासो बढाउन सबै सहमत भएका हुन् ।
आन्तरिक श्रोतबाट अपांग, अनाथ र असहाय बालबालिका लाई कक्षा १२ सम्म निशुल्क पढ्ने व्यवस्था समेत गर्ने योजनामा उल्लेख छ । नगर कार्यपालिकाले पास गरेको आवधिक योजना अनुसार आगामी आर्थिक बर्ष २०७९÷०८० सम्मका कार्यक्रम समावेश छन् । उक्त अवधि सम्म नगरका सबै विद्यालयमा अधिकतम प्रविधिको प्रयोग सहित गुणस्तरीय सिकाईको नमूना बनाउने उल्लेख छ । ‘विद्यालयलाई बाल मैत्री, अपांग मैत्री, वातावरण मैत्री र लैंगिक मैत्री बनाउने कार्यक्रम पनि ल्याएका छौं’ नगरशिक्षा अधिकारी प्रकाश ओझाले भने, ‘आवस्यकता अनुसार मातृभाषाका कक्षा संचालन गर्ने उद्धेश्य बनाएका छौं ।’ शत प्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने योजनामा उल्लेख छ । हरेक विद्यालयमा विद्युतीय प्रविधिको प्रयोग गरिएको, प्रत्येक वडामा कम्तिमा एक÷एकवटा आवासिय विद्यालय स्थापना र रोजगारीमूलक प्राविधिक शिक्षाको पढाई हुने बनाउँने ओझाले जानकारी दिए । यो नगरका ८१ विद्यालयमा ८ हजार ५ सय विद्यार्थी पढ्छन् ।
विद्यालय बाहिर रहेका तथा बिचैमा छाड्ने सबै बालबालिकालाई रमाएर पढ्न आउने वातावरण बनाउन हरेक विद्यालयमा छुट्टै योजना बनाईने उनले बताए । ‘बालबालिकालाई दिबा खाजा खुवाउने नगर योजनामा उल्लेख छ’ ओझाले भने, ‘प्राविधिक कलेज खोल्ने र त्यसका लागि प्राविधिक तहकै विद्यार्थी उत्पादनको लक्ष पनि छ ।’ गलकोटमा कृषि प्रविधिको पढाई संचालन गर्न अभिभावकको सुझाव समेत छ । शिक्षकले मदिरा सेवन नगर्ने, विद्यालय क्षेत्र भित्र मदिरा विक्रि वितरणमा समेत रोक लगाउने कार्यक्रम छ । बालबालिका लाई कुलतबाट जोगाउने र शिक्षकहरुलाई जिम्मेवार बनाउन यस्तो कार्यक्रम समेत राखेर पारित गरिएको हो । भौतिक रुपमा सुरक्षित विद्यालय बनाउन विपद व्यवस्थापन सम्बन्धी तालिमहरु संचालन गर्ने कार्यक्रम पनि समावेश छ ।
विद्यालय सुधार योजनामा सुरक्षित स्थानको छनौट, अन्य घटना बिरुद्ध लड्न पूर्व तयारी गर्ने र ५ बर्षभित्र सबै विद्यालय सुरक्षित गन्तव्य बनाउने उल्लेख छ । लामो समय देखि एकै स्थानमा बस्दा शिक्षकमा सिर्जनशिलता हराउने भन्दै कम्तिमा ३ बर्षमा सरुवाको व्यवस्था गरिएको छ । ‘सक्रिय र पेशागत क्षमता बढाउन सरुवा पद्दतीले सहयोग पुग्छ’ ओझाले भने,‘शैक्षिक सुधार हुन नसकेका विद्यालय पनि यो कार्यक्रमबाट माथि उठ्न सक्छन् ।’ विद्यालय शान्तिक्षेत्र अभियानलाई कडाईका साथ लागू गर्ने योजनामा उल्लेख छ ।