बागलुङका २१ हजार सर्वसाधारण कुवाकै पानीको भरमा

बागलुङ, २८ जेठ– जिल्लामा साढे सात प्रतिशत सर्वसाधारण आधारभुत खानेपानीबाट बञ्चित रहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्याङ्क अनुसार आधारभुत पानीको समेत प्रयोग गर्न नपाउनेको संख्या ७ दशमलव ७२ प्रतिशत रहेको छ । उच्च पहाडी र सुख्खा ठाउँहरुका बस्तीहरुमा खानेपानीको अभावका कारण सर्बसाधारण आधारभुत तहको खानेपानीबाट बञ्चित भएका हुन् । कुल जनसंख्याको ९२ दशमलव २८ प्रतिशत अर्थात् २ लाख ४७ हजार ८ सय ६८ जनाले आधारभुत तहको पानी पिउने गरेको र २० हजार ७ सय ४५ जना कुवा तथा पँधेराको भरमा रहेको डिभिजन कार्यालयका सुचना अधिकारी जनकराज गौंडेलले बताए ।
कुवा र पँधेराको पानीमा निर्भर रहेकाहरुलाई बर्षात्को समयमा भन्दा हिउँदको समयमा निकै समस्या हुने गरेको छ । लामो समय कुवाको पानीका लागि लाईनमा बस्नु पर्ने र एक गाग्री पानी भर्न समेत घण्टौं बिताउनु पर्ने समस्या रहेको गौडेलले बताए ।
राज्यले खानेपानीको क्षेत्रमा ठुलो लगानी गरेको भएपनि ठुला योजनाहरु निर्माण र व्यवस्थापन गर्न नसकेका कारण अझैपनि सर्बसाधारणले आधारभुत तहको पानी समेत नपाएका हुन् । ‘खानेपानीको ठुला योजना बनाएर काम अघि बढाईन्छ तर बजेट कम आउने गरेको छ’ गौंडेलले भने– ‘२०५६ सालमा सुरु भएका योजना अझै चलिरहेका छन, यो तरिकाले कसरी उपभोक्ताले समयमा पानी पाउँछन् ।’ शुद्धिकरण गरिएको पानी खानेको संख्या सुन्य रहेको जिल्लामा आधारभुत तहको पानी नपाउने संख्या घटाउन समेत निकै कठिन छ । ‘सुख्खा र उच्च पहाडमा रहेका बस्तीहरुमा पानीका मुहान छैनन्’ गौडेलले भने ‘लिफ्टिङ् पद्धतिका ठुला योजना सञ्चालन गरेर मात्रै पानी पु¥याउन सकिन्छ ।’ जिल्लाको साविकको सुखौरा गाविस खानेपानीको चरम समस्यामा रहेको गौंडेलले जानकारी दिए ।
सुक्दै गएका पानीका मुहानका कारण पनि आधारभुत तहको पानी पाउनेको संख्या बढ्दै गएको हो । ‘जथाभावी स्काभेटर, डोजर प्रयोग गरेर बाटोघाटो बनाउने र पानीका मुहान पुर्ने गर्दा मुहानहरु सुक्दै गएका छन्’ जिल्ला समन्वय समितीका संयोज राजेन्द्र ढुंगानाले भने ‘अब स्थानिय तहहरुले पानीको मुहान संरक्षण र उपभोक्तालाई आधारभुत तहको पानी दिनका लागि भूमिका खेल्नु पर्छ ।’ बैशाख जेठको सुख्खा समयमा जिल्लाका अधिकांश ठाउँहरुमा खानेपानीको चरम समस्या हुने गरेको छ ।