नेपाली काँग्रेसमा पौडेल र सिटौला मिल्दा गगनको ताली

‘बिगतमा कांग्रेसको आन्तरिक समिकरणमा जे भयो, सबैले भुलौं।’

काठमाडौं, २८ जेठ – नेपाली काँग्रेस पार्टीको १२ औं महाधिवेशनमा छुट्टाछुट्टै समूहबाट सभापतिमा उम्मेदवारी दिएका बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले आफूहरु अब एक भएर जाने सन्देश दिएका छन्। नेपाल विद्यार्थी संघ काठमाडौंले आयोजना गरेको ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा दुई बरिष्ठ नेताले एकताको सन्देश दिएका हुन् |
कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब आफूहरुलाई गल्तीहरूबाट पश्चाताप गरिरहने छुट नभएको बताएका थिए। ‘रामचन्द्र (पौडेल) दाईको मप्रति तमाम गुनासा होलान्, त्यो म उहाँकै मुखबाट सुन्न तयार छु’ सिटौलाले भने, ‘यो एकताको सन्देशले कांग्रेसमा नयाँ नेतृत्व स्थापित गराउन मद्दत गरोस्।’
सिटौलाको भनाईको प्रत्युत्तरमा पौडेलले भने, ‘साथीहरूले आ-आफ्ना ठाउँबाट पश्चाताप अवश्य पनि गर्नु पर्नेछ भन्ने लाग्छ। यो बीचमा हामीले धेरै गुमायौँ, तर आत्तिहाल्नु पर्ने छैन। यो एेतिहासिक क्षण हो। सबैले मनन गरौँ।’ मध्यबानेश्वरस्थित अनुपम फुडल्याण्डमा भएको कार्यक्रममा पौडेल, सिटौलाका साथै पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार रहेका प्रकाशमान सिंह र सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीको प्रत्यासी रहेका अर्जुननरसिंह केसीले हात उठाएर आफूहरुबीच एकताको सन्देश दिएका थिए।
नेताहरुबीचको यो एकताको युवा नेता गगन थापाले ताली बजाएर स्वागत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘बिगतमा कांग्रेसको आन्तरिक समिकरणमा जे भयो, सबैले भुलौं।’ सोही हलमा सबै जम्मा भएर पुन एकताको सन्देश दिन प्राप्त मौकालाई उनले संयोग होइन, प्रतिबद्धताको रुपमा व्याख्या गरेका थिए।
थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढि खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भिर आरोपपनि लगाए। अमेरिका, फिलिपिन्स लगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गर्दै थापाले नेपालमा पनि त्यसको अंशको रुपमा सो कुरा देखिएको तर्क गरेका थिए।