नेपालीको ज्यान औषधीको प्रयोगशाला

कृष्ण प्रसाद शर्मा
संघियता आएपछि कर्मचारीहरू खटाएको ठाउँमा जान मानेका छैनन् । दरबन्दी अनुसारका कर्मचारी छैनन् । तर संघियता नहुँदै पनि अधिकांश नेपाली अस्पताल देख्न पाएका थिएनन् भने शिविरमा गएका डाक्टरबाहेक अन्य समयमा डाक्टर देख्न उनीहरूको भाग्यमा रहेन । भाग्यबादी नेपालीले भाग्यलाई जिम्मा लगाएपछि अरूलाई जिम्मेवारी लिन र दिन पनि परेन । अहिले पनि सदरमुकाममा बाहेक अन्य स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी छन् तर कम्पाण्डर अर्थात् गाउँका डाक्टर अझै भनौ अ.हे.व. का भरमा स्वास्थचौकी चलेका छन् । कतिपय ठाउँमा कार्यालय साहयक नै डाक्टर र कम्पाण्डर बनेर औषधी दिईरहेका छन् ।गाउँमा पालैपालो औषधी चलाएर नेपाली ज्यान प्रयोगशाला जस्तै भएको छ । गाउँमा औषधी चलाउन पनि सरदमुकाममा डाक्टरले आँफुलाई आउने कमिशनका आधारमा तोकिएको कमसल औषधी चलाईन्छ । त्यो कमिशनमा गाउँका कम्पाउण्डको पनि भाग लाग्छ । पैसा पनि महङगो अनि औषधी पनि कमसल ।
यहाँ आज उठाउन खोजेको सवाल भने सोही प्रकृतिको छ तर थोरै भिन्न । कसरी बिदेशीले नेपाली ज्यानलाई प्रयोगशाला बनाएका छन् भन्ने हो । यो घटना नयाँ त पक्कै होईन तर बेला–बेलामा कुरा उठेपनि यसबारे सम्बन्धित पक्ष चुपचाप छ किन कि यसमा कसैलाई मतलब छैन । नेपाल अनुसन्धानका लागी प्रयोग हुने भुमी बनेको छ । देश समृद्धि बनाउने अनुसन्धान नभई युद्ध, धर्म जस्ता कुरा प्रयोग गरेर बिदेशीलाई रमाउने ठाउँ बनेको छभने गलत अनुसन्धानले गलत नजिर समेत खडा गरेको छ जसका कारण ईतिहास बङगाईएको छ । भर्खर मात्रै एउटा पत्रिकामा आएको खबर अनुसार स्वास्थ परिषद्बाट हालसम्म करीब ५०० भन्दा बढी विदेशी औषधी कम्पनीले तिनिहरूले उत्पादन गरेका औषधीको प्रभावकारिता जाँच्न नेपाली जनतालाई प्रयोग गर्न अनुमति लिएका रहेछन् । कुनै पनि औषधी तयार भएपछि त्यसको प्रभावकारिता जाँच्न जरुरी छ र यसरी जाँच गर्दा अधिकांश औषधी पहिला जनावरमा परिक्षण गरिन्छ । पहिला पहिला पनि नेपालीलाई गिनीपीग बनाईने खबर आएपनि त्यसको बारेमा आवाज उठाउन आवश्यक ठाँनिदैनथ्यो तर अहिले भने अलि खोजवीन हुँदैछ । यसरी विदेशीले तयार पारेका औषधी ललितपुरका बालबालिका एवं विभिन्न सुधार केन्द्रमा प्रयोग गरेको उल्लेख छ । बालबालिकाको लागि टाईफाईडको भ्याक्सिन, हेपटाईटिस बिरुद्धका खोप एवं कुष्टरोग जस्ता रोगको औषधीको बिरामीलाई बिना जानकारी प्रयोग गरिएको रहेछ । यसबारे पत्रिकामा आएपछि त्यससँग सम्बन्धित डाक्टरहरू समेत कतिपय औषधी हो की भ्याकसिन समेत नछुट्टिएको भने हल्का बहस बनाईराखेका छन् । नेपालमा होस् वा विदेशमा कुनैपनि औषधीको पहिलो प्रयोग गर्दा अनिवार्य बिरामीलाई सोध्नु पर्छ र यदि स्वास्थ अवस्थाका कारण बिरामीले यसबारे बोल्न कठिन भए निर्णय सम्बन्धित बिरामीको घरपरिवारका सदस्यबाट अनुमति लिएर मात्र प्रयोग गरिन्छ । उपचार भईराखेको बिरामीलाई भर्खर पढाई सकेर सो क्षेत्रमा लाग्न इच्छुकले बिरामीको स्वास्थबारे बुझ्न त अस्पतालमा सम्बन्धितबाट अनुमति लिनुपर्छ भने यहाँ बालबालिकाका बाबुआमालाई समेत थाहा नदिई यसरी औषधीको प्रयोग गरेर निर्दोष बालबालिका एवं अन्यको शरिर एक प्रयोगशाला बनाईको छ । बिना कन्सेन्ट कसैमाथी यसरी औषधी प्रयोग गर्नु गैरकानुनी हो । नेपालमा नाम चलेका कतिपय राम्रा भनिएका डाक्टरहरू समेत यसरी आफ्नो अनुसन्धान संस्थामा यस्ता गतिविधी संचालन गरी नेपाली जनताको शरिरलाई जोखिमपुर्ण गराईरहेका छन् ।
नयाँ औषधीको प्रयोग खास गरी बिपन्न जनता भएको ठाउँमा गरिन्छ । अफ्रिकाका केही मुलुक र दक्षिण एशियाको अफगानिस्तानमा अधिक हुने गरेको भनिन्छ । नेपालमा पनि यो बढ्दो छ कतिपय डाक्टरको भनाई अनुसार त बिरामी त के नेपालका जुन अस्पालमा प्रयोग हुन्छ त्यहाँका डाक्टरलाई समेत थाहा हुँदैन । केवल अमेरिकामा बनेको निकै राम्रो छ लिनुस् भनेर प्रयोग गर्ने गरेको बताईन्छ । गंगालाल अस्पतालका डा.रामेश कोइरालाले भन्नुहुन्छ “नेपालमा गरिएको हेपटायटिस ई को भयाक्सिन परिक्षण चैं बिरामीलाई र कतिपय आवस्थामा स्वास्थकर्मीलाई नै जानकारी नदिएकाले निकै विवादित रहे ।’’! कतिपय नाम चलेका डाक्टरहरूको क्लिनिक ट्रायल गर्ने एनजीओ रहेका कारण पनि उनिहरूले यसलाई बिषयान्तर गरेर यो कुरा सामसुम पार्न खोजेको देखिन्छ । अपरिक्षण औषधीलाई नेपाली ज्यान रोज्नु पनि गरिबी बिडम्बना नै मान्नु पर्छ भनेर चित्त बुझाउने कि यसरी गर्नु गैरकानुनी हो भनेर यस्ता कुरा बाहिर ल्याउनु । नेपाली जनतालाई सबैले प्रयोग नैगरेर सक्दैछन् । कसैले द्वन्दभुमीका रुपमा प्रयोग गरे भने कतिपयले धर्म र अहिले यहाँ यसरी औषधीको प्रयोग गरिरहेका छन् ।
नेताहरू बोलेका कुराको जवाफदेहि भएनन् भनेर भनिराख्ने पढेलेखाहरूले आँफुले बोलेका गरेका कुरामा भने जवाफदेही रहनु नपर्ने जस्तो जवाफ दिन्छन् । पत्रिकामा डाक्टरको भनाई कोट गरेर आएपछि पनि आफ्नो भनाईलाई मिसकोट गरेको भनेर छुटकार पाउन खोज्ने वा नेपालमा फलानो फलानो औषधी छैनन त्यसैले यो कुरा अर्कै हो भनेर मोड्ने कुरा हुन्छ । चाहे अनुसन्धानमा आएका कुरा बाहिर ल्याउन होस् वा अन्तरवार्ताका कुरा हुन । पब्लिस गर्न कन्सेण्ट फम भर्नु पर्छ तर यतिसम्म याद नगरी डाक्टरहरूले यसलाई महत्वपुर्ण नभए जस्तै व्यवहार गरेको पाईन्छ । सुचनाको हकको बहस गर्ने तर अरूलाई क्षतिको सम्भावना रहने औषधी खुवाउँदा जनतालाई भन्नु नपर्ने कस्तो तर्क होला । यसरी प्रयोगशाला स्वरुप खुवाईएको औषधीले भोली उत्पन्न असर बापतको क्षतिपुर्ति कसले दिने त्यो त धेरै परको कुरा । मान्छेको के कारणले मृत्यु भयो त्यो समेत पत्तो नलाग्ने गरी यो धन्दा भईरहेको छ । अब यसरी नेपाली निहत्था जनतालाई प्रयोग गर्ने एनजिओ आईएनजीओलाई समेत खारेज गर्नुपर्छ ।