ट्राफिक व्यवस्थापन चुस्त बनाउ

जिल्लाको सदरमुकाम रहेको बागलुङ बजार यतिबेला अस्तब्यस्त देखीन थालेको । बिहान बेलुकाको समयमा सुनसान रहने बजार दिउँसोको समयमा सवारी चापका कारण अस्तव्यस्त अवस्थामा देखीने गरेको छ । सवारी चालकहरुको लार्पवाही, ट्राफिक नियमको चरम उल्लंघनले बजारलाई कुरुप मात्रै बनाउने गरेको छैन । पैदल यात्रा गर्ने बजारबासी तथा पद यात्रीलाई निकै कठिन हुने गरेको छ । बजारमा जथाभावी राखिएका सवारी साधनका कारण एकातर्फ बाटोमा जाम हुने गरेको छभने बिहान कार्यालय समय र बेलुका कार्यालय छुट्ने समयमा बजार भित्रको सडकमा निकै ठुलो जाम हुने गरेको छ । बजार क्षेत्रमा जथाभावी ठुला ट्रक तथा मालबहाक साधनहरु प्रबेश गर्ने र सामान उठाउने तथा झार्ने गर्दा पनि सवारी जामको समस्या हुने गरेको छ । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ लगायतका संस्थाले बागलुङ बजारको ट्राफिक जामलाई सहज बनाउनका लागि जेठको पहिलो हप्ता गरेको निर्णलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नसकेका कारण पनि अहिले बजारको ट्राफिक जाम बढ्दै गएको हो ।
सर्वपक्षिय बैठक बसेर बागलुङ बजारमा माल सामान लिएर प्रबेश गर्ने ट्रकहरु बिहान ९ बजेदेखी सँझा ५ बजेसम्म बजारमा प्रबेश गर्न वा बजारमा रहेका ट्रक बाहिर जान नपाउने निर्णय गरीएको भएपनि त्यसको पालना भएको छैन् । अर्कोतर्फ जिल्लाका बिभिन्न स्थानबाट सदमुकाम प्रबेश गर्ने र सदरमुकामहुँदै काठमाण्डौ तथा पोखरा र देशका अन्य ठाउँमा जाने सवारी साधनको लागि बैकल्पिक मार्ग देखाएर सोही बाटोको प्रयोग गर्न भनिएको भएपनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन् । एकातर्फ बजारमा बढ्दै गैरहेको मानिसको चाप, मानिससँगै बढिरहेको सवारीको चापले बजार यसै पनि अपर्याप्त भैरहेका बेला बजारको ट्राफिक व्यवस्थापनमा ट्रक तथा बाहिरबाट ओहोरदोहोर गर्ने सवारीले बजारलाई बाटो बनाउँदा सर्वसधारणलाई सास्ती भैरहेको छ ।
चोक–चोकमा रोकेर राखिएका साना तथा ठुला सवारीका साधनलाई पार्किङ गर्न मिल्ने स्थानमा मात्रै पार्किङ गर्न दिने, चोक घरका पेटीहरु र सडक छेउछाउमा राखिएका सावरीका साधनहरुलाई नियमअनुसारको कार्वाही गर्ने र व्यवसायिक प्रयोजनमा प्रयोग हुने यातायातलाई समय तालिका बनाएर मात्रै बजार प्रबेश दिने व्यवस्थालाई कडाईका साथ लागु गर्नु अहिलेको आवश्यकता हो । बजारमा बढेको ट्राफिक जामका कारण एकातर्फ बजार कुरुप छ, सर्वसाधारणलाई ओहोर–दोहोर गर्ने बाटो छैन । आपतकालिन अवस्थामा प्रयोग हुने एम्बुलेन्स, अग्नि नियन्त्रक, प्रहरी लगायतका साधानहरु सहज आवत–जावत गर्न सक्ने वातावरण छैनभने अर्कोतर्फ दुर्घटनाको भय आजभन्दा भोली दोब्बर बन्दै गैरहेको छ । त्यसैले बागलुङ नगरपालिकाको पहलमा जिल्लाका सरोकारवालाको बीचमा भएको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने र सवारी साधनको पार्किङको लागि उचित व्यवस्था मिलाउने काम छिटोभन्दा छिटो थालिनु आवश्यक छ ।