बरेङमा शुक्न थालेका मुहान संरक्षण गरिदै

वृक्षारोपण, तारजाली र तटबन्दको काम चल्दै

बागलुङ, २९ जेठ– खानेपानीको चरम अभाव रहेको बरेङ गाउँपालिकामा मुहान संरक्षणको काम थालिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका तीन वटा पानीको मुहान संरक्षणको काम थालेको हो । खानेपानी विभागको मुहान संरक्षण कार्यक्रमअन्र्तगत बागलुङ जिल्लामा पहिलोपटक मुहान संरक्षणको काम थालिएको डिभिजन कार्यालय बागलुङका इन्जिनियर जनकराज गौंडेलले बताए ।

मुहान संरक्षणका लागि वृक्षारोपण, तटबन्ध र तारजाली लगाउने लगायतका काम गरिने कार्यालयले जनाएको छ । जथाभावी वन फँडानी, बाटोघाटो बनाउँदा प्रयोग हुने स्काभेटर तथा डोजरका कारण थर्केको जमिन र भुकम्पपछि बिस्तारै पानीका मुहान सुक्न थालेपछि बिभागले संरक्षणको अभियान सुरु गरेको हो । बागलुङको बरेङ गाउँपालिकामा खनेपानीको चरम अभाव रहेका बस्तीहरुलाई लक्षित गरेर मुहान संरक्षणको अभियान थालिएको हो । पहिलो चरणमा ५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर धुल्लुबाँस्कोटका डण्डुरे खोला, दुदिले खोला र भिरकुवा मुहान संरक्षण गरिने इन्जिनियर गौंडेलले जानकारी दिए । तिनवटै मुहानको संरक्षणका लागि मुहानदेखि उत्तरी भागमा पानी संञ्चित गर्न सक्ने २ सय विरुवा रोपिने छभने पहिलो नियन्त्रणका लागि ग्याविन भर्ने योजना समेत बनाईएको छ । ४० स्थान ग्याविन लगाएर माथिल्लो भागबाट आउन सक्ने पहिरोको जोखिम कम गरेर २ सय मिटर वरपरको भागमा तारवार गर्ने योजना रहेको कर्यालयले जनाएको छ ।

पहिलो चरणको कार्यक्रम भएकाले बजेट कम रहेको र ठेकेदार कम्पनीमार्फत काम गर्न लागिएको गौंडेलले जानकारी दिए । धुल्लुबाँस्कोटका तिनवटा मुहान संरक्षणका लागि बसुन्धरी निर्माण सेवाले टेण्डर पाएको छ । ‘हामीले सबै काम गर्न कम्पनीलाई जिम्मा लगाएका छौं’ गौडेलले भने ‘आगामी असार मसान्तभित्रै सबै काम सक्ने गरी काम सुरु भएको छ ।’ सुख्खा र उच्च स्थानमा रहेका संरक्षण गर्नुपर्ने पानीका मुहान धेरै रहेकाले आगामी बर्षको बजेटमा थप योजनाहरु माग गरेर पठाईएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अत्याधिक बस्ती बिस्तार भैरहेको र खानेपानीको अभाव रहेको बलेवामा क्षेत्रमा पनी मुहना संरणको आवश्यकता महशुस गरिएको छ । ‘मुलाबारीको जंगलहुँदै कालीगण्डकीमा मिसिने धापेखोला आसपासका क्षेत्रमा बृक्षारोपणको आवश्यकता छ’ कार्यालयका सूचना अधिकारी गौंडेलले भने ‘धापेखोलाको पानी बचाउन बृक्षारोपण पहिलो कुरा हो ।’ धुल्लुबाँस्कोटका तिनवटा मुहानबाट हाल १ सय ४२ परिवारले खानेपानीको प्रयोग गर्दै आएका छन् । ‘मुहान संरक्षण तथा बृक्षारोपणको काम हुनु खुसीको कुरा हो’ योजनाको बिषयमा चासो राख्दै जिल्ला समन्वय समितीका संयोजक तथा धुल्लुबाँस्कोटका स्थानिय राजेन्द्र ढुंगानाले भने ‘जमिन थर्केर दब्दै गएका मुहानलाई पुरानै अवस्थामा ल्याउन सके सयौं सर्वसाधारणलाई राहत हुने थियो ।’ विकासका नाममा प्रयोगमा आईरहेका स्काभेटर, डोजर लगायतका अत्याधुनिक साधनको प्रयोगका कारण पनीका मुहानमा असर परिरहेको ढुंगानाले बताए । ‘सुख्खा समयमा पानीको यसैपनि अभाव छ’ ढुंगानाले भने ‘विकास निर्माणका काममा सावधानी अपनाउन नसक्दा भएका पानीका मुहान पनि सुक्दै गएका छन् ।’ उनले जनस्तरमा चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।