प्रजिअलाई खुल्ला पत्र

श्री प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय बागलु्ङ
बिषयः ध्यानाकर्षण सम्बन्धमा ।
महोदय
उपरोक्त विषयका सम्बन्धमा विगत लामो समयदेखी बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाद्धारा वितरित बागलुङ बजार क्षेत्रको खानेपानीका सम्बन्धमा यहाँलाई पनि अवगत नै होला । उक्त संस्थाद्धारा वितरित खानेपानी लामो समयदेखी अत्यन्तै दुषित (लेदो माटो) पानी नगरबासीले उपभोग गर्न बाध्य भैरहेका छन् । यसरी दुषित पानी वितरण भैरहँदा एकातिर बालक, बृद्धा तथा असक्तहरु दिनहुँ दुषित पानीका कारण विरामी पर्दै गैरहेका छन्भने अर्कोतर्फ यस दुषित पानीका कारण गृहणीहरु र डेरा गरी बस्ने विद्यार्थी, शिक्षक, कर्मचारीलाई ठुलो मर्का परेको छ । बजार क्षेत्रभित्र आफ्नो होटल व्यवसाय, रेष्टुराँ तथा मिठाई पसल सञ्चालन गरेर जिविका चलाईरहेका व्यवसायीहरु समेत दुषित (लेदो पानी) का कारण अत्यन्तै मर्कामा परेको दुखेसो गरिरहेका छन् । यसरी लामो समयसम्म दुषित पानी वितरण भैरहेको र सम्बन्धित निकायमा बारम्बार जानकारीका साथै लिखित वा मौखिक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको कारण समग्र उपभोक्ताको गुनासोको प्रतिनिधित्व गर्दै यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु ।
बागलुङ नगर खानेपानी संस्थाले वितरण गरेको नगर क्षेत्रभित्रको खानेपानी दुषित भएको र उपभोक्ताका तर्फबाट ध्यानाकर्षण गराईएको यो पहिलोपटक भने हैन् । लामो समय पहिलादेखी नै उक्त श्रृंखला यथावत चलिरहेको र उपभोक्ताका तर्फबाट समेत पटक–पटक लिखित वा मौखिक रुपमा ध्यानाकर्षण गराउने कार्य भैरहेपनि उपभोक्ताको समस्याको समाधानमा न त स्वयमं नगर खानेपानी संस्थाले कुनै पहल अगाडि बढाएको छ न त कुनै राजनीतिक दल वा जनप्रतिनिधिमुलक संस्था बागलुङ नगरपालिकाले नै । खासगरी नगर क्षेत्रभित्रको खानेपानी वितरण र सरसफाईको जिम्मा बागलुङ नगरपालिकाले नै लिनुपर्नेमा विगत लामो समयदेखी नै नगरबासीले आवाज उठाईरहेका छन् । खानेपानी र सरसफाई जस्तो गम्भीर विषयमा कुनै संघ संस्थालाई जिम्मा लगाएर नगरपालिका र खासगरी जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधिहरु मुकदर्शक भएर बस्न पटक्कै मिल्दैन । सो विषयमा नागरिक स्तरबाट पटक–पटक खवरदारी भैरहेपनि न त सम्पुर्ण जिल्लाको प्रशासनिक कार्यको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालयका प्रमुखले यसको अग्रसरता लिने काम भएको छ । न त सम्बन्धित नगरपालिकाले नै ।
प्रमुख जिल्ला अधिकारी अहिले जिल्लामा नयाँ हुनुहुन्छ । यहाँको समस्याबारेमा त्यति जानकार समेत भैसक्नु भएको छैन होला । त्यसैले यहाँका नागरिकहरुको गुनासो न त हामीले सुनाउने अवसर पाएका छौं न त त्यसको अवसर नै । टाँठाबाठा र आफ्नो दुनो सोझाउन माहिरहरुले नयाँ जिल्ला प्रमुख र प्रहरी प्रशासनको आँगमन हुँदा नहुँदै अमनेसामने भैहाल्छन् । तर विचरा आफ्नो इलम गरी गुजारा चलाउने सर्वसाधारण नागरिक न त प्रशासनिक निकायको प्रमुखको अगाडि उभिन हिम्मत गर्छन । कुनै गुनासो लेख्न नै । त्यसैले बागलुङ नगरक्षेत्र भित्रका नागरिक उपभोक्ताले लामो समयदेखी भोग्दै आएको प्रमुख समस्याको रुपमा र नागरिकको स्वास्थ्यसँग जोडिएको बिषयलाई उठान गरिएको यो पत्र खुल्ला रुपमा सर्वसाधारणले देख्ने र पढ्ने गरी खुल्लै पेश गरेको छु । अझै यहाँको जानकारीको लागि विभिन्न उपभोक्ताबाट हस्ताक्षर गरिएको निवेदन बागलुङ उपभोक्ता मञ्चमार्फत मिति २०७२÷०२÷१४ मा समेत पेश गरेका थियौं । अहिलेकै प्रकृतिको लेदो पानीको विषयमा दिईएको ज्ञापनपत्र उपभोक्ता मञ्च बागलुङमार्फत जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत दर्ता भै बोधार्थ सम्बन्धित नगर खानेपानी संस्थाका नाममा समेत दिईएको थियो । जो सो कार्यालयमा समेत सुरक्षित नै होला । यसरी पटक–पटक उपभोक्ताका तर्फबाट ध्यानाकर्षण गराईरहेको र सम्बन्धित संस्थाले कुनै सुनुवाई नगरेको उक्त खानेपानीका सम्बन्धमा विभिन्न ज्ञापन पत्रका साथै विभिन्न सञ्चारमाध्याम तथा अनलाईन पत्रिकाहरुले समेत प्रकाशित भैरहँदा न त जनप्रतिनिधिमुलक संस्था बागलुङ नगरपालिका यसमा पहल गरेको छ न त समग्र प्रशासनको जिम्मेबारी पाएको सम्बन्धित अड्डाले नै ।
प्रमुख जिल्ला अधिकारी ज्यू,
जब–जब गर्मी याम शुरु हुन्छ तब–तब बिभिन्न किसिमका रोग ज्वरो, झाडापखाला, आउँ, जण्डीस जस्ता रोगहरुको संक्रमण बढ्दो हुन्छ । त्यसैमा पनि नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने खानेपानी संस्थाद्धारा वितरित प्रदुषित पानीका कारण दिनहुँ बिरामीको संख्या बढ्दो छ । अझैपनि सम्बन्धित निकायले कानमा तेल हालेर सोही पानी वितरण भैरहने होभने आगामी केही दिनमा नै बागलुङ नगर क्षेत्रभित्र पानीजन्य रोगको महामारी फैलिने प्रवल सम्भावना रहेका कारण नागरिक तथा उपभोक्ताको तर्फबाट यो खुल्ला ज्ञापन पत्र पेश भएको छ । उक्त विषयमा प्रमुख जिल्ला अधिकारीको हैसियतले नागरिकको दैनिक सरोकारका विषयमा उचित पहलकदमी लिनु नै हुने छ भन्नेमा सम्पुर्ण नगरबासी प्रतिक्षारत छौं । अन्तमा फेरी पनि नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने खानेपानी तथा सरसफाई (फोहोर मैला व्यवस्थापन) को जिम्मेबारी जननिर्वाचित प्रतिनिधि रहने थलो बागलु्ङ नगरपालिकाले नै गर्ने गराउने व्यवस्था मिलाउने र बागलुङ नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थानमा स्थानान्तरण गर्ने विषयमा समेत सम्बन्धित पक्षसँग छलफल चलाउने अग्रसरता लिनु हुनका लागि समेत नागरिकहरुको तर्फबाट खुल्ला पत्र पेश भएको छ । यसैगरी बिना जानकारी दिनमा कैयनपटक काटिने विद्युत सेवा, बजारमा पाईने मिसावटयुक्त तथा उपभोग्य समय सकिएका खाद्यपदार्थ, कृतिम अभावको आडमा हुने मुल्यबृद्धि लगायत कैयन जनजिविकासँग सरोकार राख्ने बिषयमा समेत जिल्लाको प्रमुखखको हैसियतमा नागरिक तर्फबाट जानकारी गराउँदछौं ।