सुन्ने र नसुन्ने मिलेर पढ्छन् प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स

बहिरालाई पढाउने योजना बनाए सांकेतिक भाषा अध्ययन

बागलुङ, ३० जेठ– जन्मजात कान नसुन्ने मुुगुका भानुभक्त रोकाया गत दुई वर्षदेखि धवलागिरि बहिरा विद्यालयमा प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स पढिरहेका छन् । विराट बहिरा विद्यालय, मोरङबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० पूरा गरेपछि थप पढाइ कहाँ गर्ने भन्ने अन्योलमा परेका टुहुरा विद्यार्थी रोकाया बागलुङसम्म आएर पढ्न पाएकामा खुशी छन् । बागलुङ नगरपालिकाको बाङ्गेचौर, रामरेखास्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केपी अधिकारी र संस्थापक केबी रानामगरले विभिन्न तालीम र कार्यक्रममा भेटेर यस्ता विद्यार्थीलाई विद्यालयमा ल्याउने गरेका छन् ।
आवासीय सुविधासहित डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ अध्ययनरत मुगु खमाले–२ का रोकायाले भविष्यमा बहिरा विद्यार्थीलाई पढाउने काममा संलग्न हुने आकांक्षा बोकेका छन् । बहिरा भएर पढ्नका लागि कस्तो संघर्ष व्यहोर्नुपर्छ भन्ने अनुभव भोगेका रोकायाले बहिरा विद्यार्थीकै शिक्षामा समय दिने आफ्नो भविष्यको योजना विद्यालयमा पुग्ने आगन्तुक र शिक्षकलाई सुनाइरहन्छन् । देशका ४१ जिल्लाका गरी २ सय ५४ विद्यार्थी अध्ययनरत बहिरा विद्यालयका कक्षा १२ का विद्यार्थी इन्द्रा सोबले कक्षा ८ सम्म डोटीमा पढ्नुपरेको थियो । कक्षा ९ देखि पढ्नका लागि बागलुङ आइपुगेका सोबका पनि बुबाआमा छैनन् । सोबले आफू पढेपछि चित्र बनाउने, कपडा सिलाउने काममा संलग्न हुने योजना सुनाइन् । बहिरा विद्यालयमा कान नसुन्ने विद्यार्थीमात्रै छैनन्, सुन्ने विद्यार्थी पनि छन् । बहिरा विद्यार्थीमात्रै हुँदा भाषान्तरमा समस्या हुन सक्ने र आपसी घुलन नहुने भएकाले यहाँ २५ जना कान सुन्ने विद्यार्थी राखिएको छ । अवलोकनका लागि यही जेठ २५ गते विद्यालयमा पुगेका पूर्व शिक्षामन्त्री धनीराम पौडेल, प्रतिनिधिसभा सदस्य मनकुमारी जिसी, साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालगायतको टोलीलाई कक्षा १० मा अध्ययनरत मनिषा पाठकले बहिरा विद्यार्थीसँगको अन्तक्र्रियामा साङ्केतिक र मौखिक दुवै भाषामा भाषान्तरको काम गरेकी थिइन् ।
विद्यालयमा भारतको विहार निवासी चन्द्रभूषण शाह पनि कक्षा ८ मा अध्ययनरत छन् । टाढाटाढाका यस्ता विद्यार्थीलाई आवसीयरूपमा पढाउने विद्यालयका लागि सरकारले पर्याप्त शिक्षक दरबन्दी, तालीम र भौतिक पूर्वाधारका लागि बजेट नदिएको विद्यालयका अध्यक्ष एवं राष्ट्रिय बहिरा महासंघका अध्यक्ष अधिकारीले गुनासो गर्छन् । सो विद्यालयमा हाल आधारभूत तहमा तीनजना स्थायी दरबन्दी, चारजना राहत र चारजना निजी स्रोतका शिक्षक छन् । विसं २०७२ असार ६ गते तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट सो विद्यालयको उद्घाटन भएको थियो । साङ्केतिक भाषाका शब्दावलीको जानकारी र शिक्षकलाई आफैँ तालीम व्यवस्थापन गर्नुपर्दा विद्यालयलाई कठिनाइ भएको सहायक प्रधानाध्यापक रेशमबहादुर श्रीसले बताए । विशेष क्षमता भएका विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि आफू मन्त्री हुँदा लामो समयदेखि हुन नसकेको विशेष शिक्षा परिषद्को बैठकबाट यस्ता विद्यालयलाई अतिरिक्त सुविधा दिने विषयमा नीतिगत निर्णय गरेको पूर्व शिक्षामन्त्री पौडेलले बताए ।
सांसद जिसीले विद्यालयमा आवश्यक सुविधाको प्रबन्धका लागि स्थानीय तह र सम्बन्धित निकाय तथा आफ्नोतर्फबाट निरन्तर सहयोग हुने बताईन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विशेष क्षमता भएका विद्यार्थी पढ्ने विद्यालय र सामुदायिक विद्यालयको सुधारका लागि योजना बनाई काम शुरु गरिएको बताए । अवलोकनका अवसरमा विशेष क्षमताका यस्ता विद्यार्थीको पठन संस्कृति विकासका लागि आफ्ना पिता दण्डपाणि शर्माको स्मृतिमा व्यक्तिगत खर्चमा विद्यालयकोे उद्घाटनका अवसरमा रु ५० हजार नगद प्रदान गरेका प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले थप रु ५१ हजार बराबरको पुस्तक उपलब्ध गराउने घोषणा गरे । हाल मुलुकभर २२ बहिरा विद्यालयमा गरी करीब दुई हजार पाँच बहिरा विद्यार्थी अध्ययनरत छन् ।