बागलुङ नगरपालिकाको कर बढेकोमा व्यवसायी असन्तुष्ट

बागलुङ, ३० जेठ– नगर करमा चाहिनेभन्दा धेरै असुल गरेको भन्दै व्यवसायी असन्तुष्ट भएका छन् । अघिल्लो बर्षसम्म २ हजार ५ सय रुपैयाँ नगर कर तिरेका जिल्ला स्तरका ठूला होटललाई चालु बर्ष १० हजार रुपैयाँ पु¥याइएपछि व्यवसायीको गुनासो बढेको हो । सेवा सुविधा र सुरक्षा केही नपाईकनै ३ सयदेखि ४ सय प्रतिशतसम्म कर बढाएको उनीहरुको आरोप छ । चालु बर्ष नगरपालिकाले २ करोड ७७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्यले उक्त कर बढाएको नगर प्रमुख जनकराज पौडेल बताउँछन् । बढेको कर तिरेपछि पानी, फोहोर, एकीकृत सम्पत्तिकर लगायतको थप शुल्क लिएको आरोप व्यवसायीले लगाएका छन् । ‘सेवा सुविधामा कुनै परिवर्तन नगरी यतिधेरै कर बढाइएको छ, यो व्यवसाय धरासायी बनाउने काम भयो’ होटल व्यवसायी संघका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘जनप्रतिनिधि आएकोले तलब खुवाउन मात्र यति तिर्नु परेको हो की अरु कारण छ, हामी अन्यौल भयौं ।’ कर उठाएपछि पर्यटन व्यवसाय प्रवद्र्धनमा रकम खर्च नगरेको उनीहरुको टिप्पणी छ ।
संकलित राजश्वलाई भौतिक विकासको नाउँमा सडक र अन्य पूर्वाधारमा बढी लगानी भएको राजभण्डारीले गुनासो गरे । नगरभित्रका झण्डै १ सय ५० होटलले लाखौं कर तिरेको उनले बताए । नगरपालिकाले चिया पसललाई १ हजार, मिठाई पसललाई २ हजार, मध्यम होटललाई ३ हजार, बारलाई ४ हजार, मदिरासहित बिक्रि गर्ने होटललाई १० हजार रुपैयाँ लिने गरेको हो । यसअघि यस्ता होटलले बढीमा ३ हजार रुपैयाँसम्म तिरेका थिए । नगरपालिकाका राजश्व शाखा प्रमुख हरिनारायण उपाध्यायका अनुसार आगामी बर्ष राजश्व ८ करोड पु¥याउने लक्ष्य छ । उक्त करका लागि अझै दर र दायरा बढ्ने उनले बताए ।
व्यवसायीले भने दायरा नबढाएर तिरेका व्यवसायीकै घाँटी रेट्ने काम भएको टिप्पणी गरे । ‘हामीले बिरोध गरेकोले केही कम भएको हो’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘कर बढाउनु हुँदैन भन्नेमा हामी छैनौं, तर सल्लाह र व्यवसाय प्रवद्र्धनमा पनि नगरपालिकाको कार्यक्रम लक्षित हुनुपर्छ ।’ व्यापारीलाई कर र चन्दा मात्र लिने हो, अवसर दिने हैन भन्ने प्रवृत्ति मौलाएको उनले बताए । स्थानीय निकाय रहँदा तोकिएका सिलिङ फुकुवा भएर नगरपरिषदले दर बढाएको उपाध्यायले बताए । संस्थागत विद्यालयलाई पनि १ हजार रुपैयाँ लिने गरेकोमा बढाएर १० हजार रुपैयाँसम्म पु¥याइएको गुनासो बढेको छ । गलकोट, जैमिनी र गलकोट नगरपालिकाले भने आगामी आवदेखि एकीकृत सम्पत्ति कर र अन्य कर लगाउने तयारी गरेका छन् । हाल ती नगरले मालपोत र घरधुरी कर मात्र उठाएका छन् ।