साढे चार वर्षमा १५ सय मात्रै पक्की शौचालय निर्माण

जिल्लाभर ४ हजार बढी घरमा कच्चि सौचालयको भर

बागलुङ, ३० जेठ– खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको चार बर्ष चार महिना पुग्दासम्म जिल्लामा पक्कि शौचालय निर्माण गर्नेको संख्या तिन प्रतिशतले मात्रै बृद्धि भएको छ । २०७० साल माघ १६ गते जिल्लाभरका १० प्रतिशत घरमा कच्चि शौचालय निर्माण गरेर खुल्ला दिशामुक्त घोषण गरिएकोमा हालसम्म थप तिन प्रतिशत घरले मात्रै पक्कि शौचालय निर्माण गरेका छन् । कुल ९० प्रतिशत घरमा पक्कि शौचालय र १० प्रतिशत घरमा कच्चि शौचालय निर्माण गरी जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको थियो । खुल्ला दिशामुक्त घोषणा गर्ने समयमा जिल्लाभर रहेका ५७ हजार २ सय ९९ घरमध्ये ५१ हजार ५ सय ६९ घरमा पक्कि शौचालय र ५ हजार ६ सय ३ घरमा कच्चि शौचालय निर्माण गरिएको थियो ।
झण्डै साढे चार बर्षको अवधिमा कच्चि शौचालय निर्माण गरेर खुल्ला दिशामुक्त अभियानमा सहभागी भएकामध्ये १ हजार ५ सय ४५ घरले पक्कि शौचालय निर्माण गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ । ‘हाल जिल्लाका ५३ हजार एक सय १६ घरमा मात्रै पक्कि शौचालय छन्’ खानेपानी डिभिजनका ईन्जीनियर जनकराज गौंडेलले भने ‘अझै ४ हजार १ सय ८३ घरमा पक्कि शौचालय निर्माण हुन बाँकी रहेको छ ।’ सर्वसाधारणमा खुल्ला दिशा तथा कच्चि शौचालयको प्रयोगका कारण हुन सक्ने महामारीको बारेमा प्राप्त जानकारी नहुँदा र उनीहरुको पक्कि शौचालय निर्माण गर्ने इच्छा शक्ति नभएका कारण पनि लामो समय बितिसक्दा समेत पक्कि शौचालय निर्माण नभएको गौंडेलले बताए । ‘खुल्ला दिशामुक्त क्षेत्र घोषणा अभियान चलाएको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाले सबै घरधुरीलाई प्यान र पाईप वितरण गरेको थियो’ गौंडेलले भने ‘राज्यले दिएका प्यान र पाईप घरमा थन्काएर शौचालय निर्माण नगर्दा अझै समस्या कायम छ ।’ पक्कि शौचालय निर्माणका लागि स्थानिय सर्वसाधारणमा जागरुकता नआएसम्म समस्या कायम रहने गौंडेलले बताए ।
शौचालय निर्माण गरेर जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न भुमीका खेलेको परियोजनाले हाल जिल्लामा पुर्ण सरसफाईयुक्त बनाउने अभियान सुरु गरिसकेको छ । ‘जिल्लामा नयाँ अभियानको थालनी भैसकेको छ’ जिल्ला समन्वय समितीका संयोजक तथा पुर्णसरसफाई जिल्ला समन्वय समितीका संयोजक राजेन्द्र ढुंगानाले भने ‘विभिन्न संघ संस्था र सरकारका निकायसँग मिलेर काम गरिरहेको परियोजनाले नबनेका शौचालय पक्कि बनाउन सहयोग गर्छ भन्ने लागेको छ ।’ बागलुङ सबैभन्दा धेरै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र आसपासका क्षेत्रमा पक्कि शौचालय निर्माण हुन बाँकी रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । नयाँ संरचनाअनुसार बनेका स्थानिय तहहरुको तथ्याङ्क संकलनको काम चलिरहेकाले यतिनै भन्ने तथ्याङ्क नभए पनि पुरनो संरचनाका आधारमा बोबाङमा सबैभन्दा धेरै कच्चि शौचालय रहेको इन्जिनियर गौंडेलले बताए ।

तस्वीरः जनमञ्च फाईल फोटो