बागलुङमा भएका छुट्टा–छुट्टै दुर्घटनामा पाँच जना घाईते

बागलुङ, ३० जेठ– तीव्र गतीमा आएको मोटरसाईलक र ट्रिपर कन्ट्रोल हुन नसक्दा बुधवार दिउसो भएको दुर्घटनामा एक जना घाईते भएका छन् । मालढुंगा देखि बागलुङ आएको ध १ प २६९६ नम्बरको मोटरसाईकल र बागलुङ देखि मालढुंगा जाँदै गरेको बा १ ग २९०२ नम्बरको ट्रिपर दुवैले गति कम गर्न नसक्दा गणेश घुम्ती नजिकै पल्टिएका थिए । ट्रिपर सडकको नालीमा पल्टेको हो भने मोटरसाईल सडकै पल्टिंदा सवार म्याग्दीको बेनी नगरपालिकाका २५ बर्षिय शैलेन्द्र बानियाँ घाईते भएको प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए । टाउको, मुख र खुट्टामा चोट लागेका बानियाँलाई सामान्य उपचार पछि पोखरा रिफर गरिएको छ ।
घटनाको थप अनुसन्धान भैरहेको थापाले बताए । यसैबिच बुर्तिवाङबाट ढोरपाटन जाँदै गरेको लु १ ज ३४६७ नम्बरको जिप ढोरपाटन नगरपालिका– ९ फल्लेघर भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । घाईतेहरुको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र उपचार भैरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा ढोरपाटन नगरपालिकाका ६ का ३० वर्षिय देवेन्द्र घर्तीमगर, ५२ वर्षिय तुलसी घर्ती, ४० वर्षीया निमकुमारी भण्डारी र ३३ वर्षीया विष्णुमाया भण्डारी रहेका छन् ।