महत्व र पहिचान झल्काउने बहुचर्चित शिला शालिग्राम

शिलालाई दाहिने पारेर बग्ने कालीगण्डकी नदीले शिला शालिग्रामको महत्व अझै बढाएको छ।

शिला शालिग्राम, एक प्रसिद्ध नाम। नामले नै यसको महत्व र पहिचान झल्काउने सामथ्र्य राख्न सक्दछ। भौतिक रूपमा हेर्दा यो एक ढुंगा मात्र हो, त्यो पनि विश्वकै ठूलो । तर, यो ढुंगो हेर्न प्रत्येक दिन सयौं मान्छे जान्छन्।
यो ढुंगोलाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । स्वस्थानी कथामा जालन्धरकी श्रीमती वृन्दाको पतिव्रता छद्म भेषमा भगवान् विष्णुले नष्ट गरेपछि वृन्दाले उनलाई चार श्राप दिएकी थिइन् । ती चार श्रापमध्येको एक पत्थर बन्नुपरोस् भन्ने श्रापका कारण भगवान् विष्णुले शिला शालिग्रामको रूप लिएको किंवदन्ती सुन्न पाइन्छ।
यो, त शिला शालिग्रामको एक धार्मिक पहिचान मात्र हो । मानवीय संवेदनाका कुनै पनि क्षणमा मानिसहरूले सम्झने आस्थाको केन्द्रको रूपमा पनि शिला शालिग्रामलाई लिने गरिन्छ । मुक्तिनाथ र गलेश्वरपछि कालीगण्डकीले छुने अर्को प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पनि शालिग्राम नै हो ।
शिलालाई दाहिने पारेर बग्ने कालीगण्डकी नदीले पनि शिला शालिग्रामको महत्व अझै बढाएको छ । हिन्दू धर्मावलम्वीहरूको प्राय सबै संस्कारहरूको शिला शालिग्राममा नै पूजाआजा गरी गर्ने गरिएको छ । यो चलनको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य भने छैन ।धार्मिक कुराले मात्र होइन, शिला शालिग्राम भौगोलिक कारणले पनि उत्तिकै चर्चित छ । संघीयता आउनुपूर्व साविकको नेपालको राजनीतिक विभाजनअनुसार यो पश्चिामाञ्चल विकास क्षेत्रमा पर्दछ र हाल प्रदेश नं. ४ मा रहेको छ । जिल्ला र प्रदेशकै पर्यटकीय गन्तव्यमा दरिएको शालिग्रामलाई पर्वतले मात्र पर्यकटीय सूचीमा राखेर प्रचारप्रसार गर्दै आइरहेको छ।
शिला शालिग्रामले साबिकका तीन अञ्चल धौलागिरी, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ। प्रदेश ५ कोे गुल्मी तथा प्रदेश ४ का पर्वत र स्याङ्जाले पनि जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा शिला शालिग्रामलाई उदाहरणको रूपमा लिने गर्दछन्।
यो त भयो जिल्लागत, धार्मिक तथा भौगोलिक वस्तुस्थिति। तीन जिल्ला, दुई प्रदेशले आफ्नो गौरवको रूपमा शिला शालिग्रामलाई देखाएतापनि यी सबै प्रदेश र जिल्लाकै तानातानको कारण शिला शालिग्राम अहिले बेवास्तामा परेको छ । आज प्रत्यक्ष सीमानामा जोडिने स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको विहादी गाउँपालिका यी दुवैले शिला शालिग्रामलाई आफ्नो भूभागमा पर्ने दाबी गरिरहँदा शिलाको भौतिक अवस्था भने कुरूप बन्दै गइरहेको छ ।
वास्तवमा शिलाको बायाँतर्फबाट बग्ने सेतीखोलाले दशकअघि शिला शालिग्रामलाई बीचमा पारेर बग्ने गर्दथ्यो र त्यतिबेला पनि पर्वत तथा स्याङ्जा दुवैले सीमाक्षेत्रमा परेको हुँदा आफ्नो जिल्लामा परेको दाबी गर्दथे ।सेतीखोलाले नै पर्वत र स्याङ्जाको सिमाना पनि छुट्याएको छ।
शिला शालिग्राममा साबिकको पर्वत जिविसले नै मर्मत तथा संरक्षण गर्दै आइरहेको थियो । हालसम्म पर्वतको जिविस होस् वा तत्कालीन गाविस, शालिग्रामको संरक्षणका लागि पर्वतले नै लगानी गर्दै आइरहेको छ । शिला संरक्षण तथा व्यवस्थापनका लागि पर्वतले नै केही वर्षअघि बृहत् ज्ञानमहायज्ञसमेत आयोजना गरेको थियो।
शालिग्राममा दर्शनार्थी परिक्रमा गर्ने स्थल भत्किएको एकवर्ष बितिसक्दा पनि त्यसको पुनर्निर्माण भने हुन सकेको छैन । स्थानीय तह कार्यान्वयनमा आइसकेपछि भने बिहादी गाउँपालिकाले अघिल्लो बजेटमा पनि यसलाई समावेश गर्न सकेन, स्याङ्जाको गल्याङ नगरपालिकाको नजरमा यो पर्न सकेन । तर, स्थानीय तहको बजेटले यसको संरक्षण गर्न सम्भव भने छैन । विहादी गाउँपालिकाले शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवाहरू बनाउने योजना बनाएको छ ।तर, ठूलै योजना बनाएर यसको संरक्षण गर्ने उपाय भने स्थानीय तहको वशमा छैन ।
दुई वर्षअघि साउन १२ गते कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौं दिनसम्म डुबाएको थियो । त्यतिबेला नै शिलाको परिक्रमास्थल भत्किएको हो । त्यो अहिलेसम्म पनि बन्न सकेको छैन् । वर्षैंपिच्छे आउने बाढीका कारण त्यहाँका स्थानीयहरू वर्षातको समयमा सधंै त्रासमा रहने गर्दछन् । यसकोदिगो समाधानका लागि पनि स्थानीय तहहरूले योजना बनाउन सकेका छैनन्।
गतवर्षको स्थानीय तहको चुनावमा लोकप्रिय नारा बनेको शिला शालिग्राम चुनावपछि हराएको छ। त्यहाँ केवल हिन्दू धर्मप्रति आस्थावान् व्यक्तिहरू दर्शन गर्न जाने हुँदा मात्र चहलपहल देखिन्छ । शिला शालिग्राममा ठूलीएकादशी र वैशाखे संक्रान्तिका कारण वर्षमा दुईपटक दर्शनार्थीको भेला हुने गरेको छ । हरेक वर्षका दुई धार्मिक तिथिमा शालिग्राममा लाग्ने बृहत् मेला तथा दर्शनार्थीहरूले अहिलेसम्म यसको सांस्कृतिक महŒव भने कमजोर हुन दिएका छैनन्।
एक आस्था र धर्मकै कारण हालसम्म समयसमयमा चर्चामा आउने शालिग्रामको भौतिक स्वरूप परिवर्तन हुँदै गर्दा यो सम्बन्धित निकायको बेवास्तामा पर्दै गइरहेको छ ।पछिल्लो समय कालीगण्डकी लोकमार्गको निर्माणकार्यले पनि यसको अस्तित्व संकटमा पर्दै गइरहेको छ । लोकमार्गका लागि सेतीखोलामाथि मोटरेबल पुल निर्माण गर्दै शिला परिसरबाट नै अवैध रूपमा बालुवा र कंक्रिटहरू झिकिएका छन् । शिलालाई घुम्ने सेतीखोलाको बीचमा नै ट्याक्टर र डोजरहरू चलाइँदा यसको भित्री सतहमा असर पुग्ने देखिन्छ। अर्कोतर्फ खोलालाई गहिर्याउँदै जाँदा वर्षात्मा यसले बाढी–पहिरोका कारण मानवीय घटना पनि घटाउन सक्ने जोखिम बढिरहेको छ।
धर्मको आस्थाको केन्द्र, भूगोलको सिमाना, अनि पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षणको विषयमा अहिले नै दीर्घकालीन समाधानबारे नसोचे भविष्यमा यसको अस्तित्व नै नरहन पनि सक्छ । प्रदेशसभामा नै शालिग्रामलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने माग उठिरहँदा यसतर्फ सबैले गम्भीर भएर सोच्न जरुरी छ ।जाउँ एकपटक घुमौं सेतीवेणी, शिलाको दर्शन गरौं, अनि दिगो मर्मतका लागि अभियान सुरु गरौं।
पुरानै संरचनामा फर्काउनुपर्छ
कमलप्रसाद भुसाल
प्रमुख, विहादी गाउँपालिका
शिला शालिग्राम एउटा मात्र जिल्ला वा भूगोलको होइन । यो विश्वकै हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । पर्वत जिल्लाको विहादी गाउँपालिकामा शालिग्राम रहनु हामी विहादीवासीको गर्वको कुरा पनि हो । यसको संरक्षणको विषयमा विहादी गाउँपालिका सदा गम्भीर र जिम्मेवार छ।हालसम्म यसको संरक्षणमा जति पनि लगानी भएको छ, त्यो सबै पर्वतले गरेको छ । अघिल्लो सालको वर्षातले यसको परिक्रमास्थल भत्काएको छ, यसलाई अल्पकालीनभन्दा पनि दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जरुरी छ । तर, गाउँपालिकाको बजेटले यो सम्भव छैन् । हामीले प्रदेश सरकारसमक्ष शालिग्रामको संरक्षणका लागि डिपिआर र आवश्यक अध्ययन गरी बजेट विनियोजन गर्न प्रदेश सरकार समक्ष माग गरेका छौं ।
कालीगण्डकी ए जलविद्युत् परियोजनाको ड्यामका कारण शालिग्रामको तल्लो भाग पुरिएको छ, यसलाई साविकको अवस्थामा ल्याउन पनि हामीले कालीगण्डकीको धार परिवर्तन गर्नुपर्ने विषय उठान गरेका छौं । यसमा करोडौं बजेट लाग्न सक्छ, तर धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण र राष्ट्रिय महत्वको विषय भएको हुँदा केन्द्र सरकारले नै यसमा चासो दिन जरुरी छ । हामीले यसबारेमा सम्बन्धित मन्त्रालयमा जानकारी पनि गराएका छौं । अहिले कालीगण्डकी बगिरहेको धारलाई गुल्मीतर्फको अर्वेनीको बगरमा मोड्न सके शालिग्राम पुरानै संरचनामा फर्किन सक्छ । हामीले यो विकल्प पनि निकालेका छौं।
अर्कोतर्फ, स्थानीय तह कार्यान्वयनमा आइसकेपछि संरक्षणका लागि हामी सक्दो प्रयास पनि गरिरहेका छौं ।सेतीखोलामा तटबन्ध बाँध्नका लागि प्रस्ताव तयार गर्न थालिएको छ र संस्कृति संरक्षणको लागि पौवा तथा मन्दिरहरूहामीले बनाउने योजना बनाएका छौं ।