नेकपा कार्यदल बागलुङको पहिलो बैठक सकियो

पधाधिकारी बढाउन माग

बागलुङ, ३१ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कार्यदलको बैठक बुधबार बागलुङ बजारमा सम्पन्न भएको छ । प्रदेश कमिटीले तोकेअनुसार पुर्व माओवादी जिल्ला इन्चार्जसहित ४ जना पदाधिकारी र पुर्व एमाले जिल्ला इन्चार्जसहित ४ जना पधाधिकारी मिलाएर बनेको १० सदस्यीय कार्यदलको पहिलो बैठक बुधबार बसेको हो । बैठकले पार्टीकोे संरचना लगायतका विषयमा दश बुँदे निर्णय गरेको पुर्व एमाले उपाध्यक्ष कृष्ण पाठकले जानकारी दिए । जिल्लामा सांगठनिक क्रियाकलाप सञ्चालन तथा महत्वपुर्ण निर्णय गर्नका लागि बनाईएको कार्यदलले पार्टी एकतालाई जिल्लामा स्वागत गर्ने पहिलो निर्णय गरेको छ । दुई पार्टी एक भएपछि बनेको नेकपाको कार्यालय साविकको एमाले पार्टी कार्यालय रहेको घरमा राख्ने निर्णय भएको कार्यदल सदस्य तथा पुर्व एमाले सचिव लाल थापाले बताए ।
प्रदेश कमिटीले कार्यालय राख्ने ठाउँसमेत तोकेर पठाउन कार्यदललाई जिम्मेवारी दिएको थियो । बैठकले जिल्ला कमिटिको संख्या ७९ बाट बढाउनु पर्ने सुझाव उपल्लो कमिटीमा पठाउने निर्णय गरेको छ । त्यस्तै, पदाधिकारीमा हाल अध्यक्ष र सचिव रहने भनिएको उपाध्यक्ष र सह–सचिवलाई समेत पधाधीकारीमा राख्न सुझाव पठाउने निर्णय भएको छ । दुई पार्टी एकै ठाउँमा भएपछि पारदर्शिताका लागि भन्दै दुवै पार्टीले चल अचल सम्पत्ति विवरण तयार गर्ने, पार्टी कमिटीको सदस्य संख्याको विवरण तयार गर्ने लगायतका निर्णय बुधबारको बैठकले गरेको छ । नेकपाको जिल्ला कमिटी नबनुन्जेल सम्मको लागि कार्यालय सञ्चालन तथा व्यवस्थापनको जिम्मा पुर्व दुई पार्टीका ४ जना नेताहरुलाई दिईएको छ ।
पुर्व एमालेबाट कृष्ण पाठक र लाल थापा तथा पुर्व माओबादी केन्द्रबाट ज्ञामनाथ गैरे र फमलाल न्युरेलाई बैठकले जिम्मेबारी दिएको छ । कार्यालय सञ्चालनको लागि भने कार्यालय सचिवको रुपमा शिव शर्मा र चन्द्र थापाले जिम्मेबारी पाएका छन् । कार्यदलमा पुर्व एमालेको तर्फबाट मन कुमारी केसी, इन्द्रलाल सापकोटा, कृष्ण पाठक, लाल थापा, बिष्णु भुषल सहभागी छन्भने पुर्व माओवादी केन्द्रको तर्फबाट ज्ञामनाथ गैरे, फमलाल न्युरे, प्रकाश घर्ति, राजिव घिमिरे र चन्द्र बहादुर थापा रहेका छन् । नेकपा जिल्ला कार्यदलको दोस्रो बैठक आगामी असार ११ गते बागलुङ बजारमा बस्ने छ ।