स्वास्थ्यमा पनि स्वार्थ !

विवाद सुल्झाउन समानान्तर दुई भवन

बागलुङ, ३१ जेठ– जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा समानान्तर दुई वटा स्वास्थ्य चौकी भवन बन्ने भएका छन् । स्वास्थ्य चौकी भवन निर्माण स्थलमा स्थानियको लामो समयको बिबादलाई समाधान गर्न समानान्तर दुईवटा भवन बनाउन लागिएको हो । २०७१ साल मंसिर ५ गते स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएको भवन कहाँ बनाउने भन्ने बिषयमा स्थानिय सर्वसधारणका बीच बिबाद भएपछि हालसम्म काम अगाडि बढ्न सकेको छैन ।
स्थानियको स्थान विवादका कारण लामो समयदेखी काम अगाडि बढ्न नसकेको स्वास्थ्य चौकी भवन निर्माणका लागि दुवै पक्षलाई मान्य हुने गरी दुईवटा समानान्तर भवन निर्माण गरेर बिबादको समाधान खोज्न लागिएको प्रदेशसभा सांसद इन्द्रलाल सापकोटाले बताए । हाल स्वास्थ्यचौकी रहेको स्थानमा स्वास्थ्य बिभागबाट स्वीकृत भवन र स्थानियको माग अनुसार सायाकटेरामा बहुउदेश्यीय भवन बनाएर स्वास्थ्य इकाई स्थापना गर्ने गरी समस्याको समाधान गर्न लागिएको उनको भनाई छ । स्वास्थ्य इकाई स्थापनाको लागि स्वास्थ्य सेवा बिभागबाट स्वीकृती आईसकेकाले भवनको विवाद समाधान गर्न प्रदेश सरकारले आगामी बजेटमा बहुदेश्यीय भवनका लागि बजेटको व्यवस्था गर्ने तयारी गरिरहेको छ । ‘एउटै वडामा दुई वटा स्वास्थ्य चौकी भवन बनाउन अलिक कठिन छ’ साापकोटाले भने ‘बहुउद्देश्यीय भवन बनाएर स्वास्थ्य इकाईलाई प्रयोग गर्न दिने विकल्प रोजेका छौं ।’ प्रदेशसभाको आर्थिक बर्ष २०७५/०७६ को बजेटले भवनलाई सम्बोधन गर्ने भएकाले आगामी साउनपछि दुवै भवन समानान्तर रुपमा बन्ने र समस्याको समाधान हुने सापकोटाको विश्वास छ । स्थानियको विवादका कारण टेण्डर भएर पनि काम अगाडि बढ्न नसकेको स्वास्थ्य चौकीको समस्या समाधानका लागि गाउँपालिका तहबाट पहल गरिएपनि समस्या समाधान हुन सकेको थिएन् । ‘हामीले धेरै प्रयास गरेका हौं तर बिबाद सुल्झाउन सकिएन’ गाउँपालिका अध्यक्ष अमर थापाले भने ‘प्रदेश सरकार वा केन्द्र सरकारलाई समस्याको समाधान खोज्न भनिएको छ स्वास्थ्य इकाई स्थापना र भवन निर्माणको बिषय सम्बोधन भए विवाद सुल्झीन्छ ।’ स्वास्थ्य इकाईका लागि बिभागबाट स्वीकृत भैसकेको र कर्मचारीको व्यवस्थापन गाउँपालिकाले गर्ने भएकाले भवनको बिषयमा उपल्लो तहका सरकारले सम्बोधन गरीदिए समस्या समाधान हुने थापाले बताए । डिभिजन कार्यालय बागलुङले टेण्डर प्रक्रियाबाट भवन बनाउने जिम्मा ठेकेदार कम्पनीलाई दिईसकेको भएपनि यहाँ बनाउने भन्ने विषयमा विवाद भएपछि भवन निर्माणको काम स्थगीत गरिएको छ ।
हाल स्वास्थ्यचौकी रहेको धम्जा देउराली छेउमा रहेकाले स्थान परिवर्तन गर्नुपर्ने एकथरिको माग रहेको छभने साविककै ठाउँमा नयाँ भवन निर्माण गर्नुपर्ने अर्कोथरीको मागका कारण तिन बर्षदेखी भवन निर्माणको काम सुरु हुन सकेको छैन् । ‘निर्माण स्थलको विषयमा विवादका कारण निर्माण कम्पनीले काम अगाडि बढाउन सकेको छैन्’ भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर तेजेन्द्र पौडेलले भने ‘सँगै सुरु भएका जिल्लाका अन्य स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भैसक्दा समेत धम्जाको काम सुरु गर्न सकिएको छैन् ।’ डिभिजन कार्यालयले निर्माण कम्पनीलाई भवन निर्माण स्थल देखाउन नसक्दा बजेटभन्दा माथि गएर कम्पनीलाई क्षतिपुर्ति दिनुपर्ने अवस्था आउन सक्ने पौडेलले बताए । धम्जा देउरालीमा रहेको स्वास्थ्य चौकी सर्वसाधारणको पहुँचमा नरहेको भन्दै स्थानियले सायाकटेरामा भवन निर्माणको लागि ४ रोपनी जग्गा समेत स्वास्थ्य चौकीको नाममा खरिद गरिसकेका छन् । प्रदेश सरकारले व्यवस्था गरेको बजेटका आधारमा दुवै भवन बनेपछि धम्जा देउरालीमा स्वास्थ्य चौकी भवन र सायाकटेरामा स्वास्थ्य इकाई स्थापना हुने छ ।