पिकअप खस्दा वडा सदस्य सहित दुई को मृत्यु, दुई जना घाईते

बागलुङ, ३१ जेठ– गलकोट देखि यात्री लिएर ताराखोला गाउँपालिका २ अर्गल जाँदै गरेको पिकअप सडक देखि खस्दा २ जनाको मृत्यु भएको छ । ग १ ज ६०३४ नम्बरको पिकअप बिहिवार दिउसो १ बजे भातखाने डाँडा नजिकै सडक देखि ५ सय मीटर तल खसेको हो । घटनामा ताराखोला गाउँपालिका ३ का २४ बर्षिय हेमन्त घिमिरे र ५५ बर्षका हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बतायो । घिमिरे ताराखोला गाउँपालिकाका वडा सदस्य पनि हुन् । जिपका चालक डम्बरबहादुर घिमिरे र अर्का यात्री ४२ बर्षका कर्णबहादुर भण्डारी गम्भिर घाईते भएका छन् । उनीहरु दुवैलाई उपचारका लागि स्थानीय र प्रहरीले उद्दार गरी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र पठाएका छन् । जिप खसेको देखेका स्थानीय भक्तबहादुर घर्तीले तत्कालै प्रहरी र स्थानीयलाई खवर गरेपछि उद्दारको काम थालेका थिए । जिप क्षत विक्षत भएको घर्तीले जानकारी दिए ।