सबै मिलेर संघियता खारेज गर्छन्–राजमो अध्यक्ष केसी

बागल्ङ, १ असार– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकले संघियता कुनै पनि हालतमा खेप्न नसक्ने बताएका छन् । देशको अर्थतन्त्रले संघियताको खर्च धान्न नसक्ने भन्दै केसीले खारेजीको विकल्प नभएको दावी गरे । प्रगतिशिल पत्रकार संघ बागलुङले बिहिबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले देशमा संघियता आवश्यकता नहुँदा नहुँदै बिदेशीको ईशारामा जर्वजस्ती लादिएको जिकिर गरे । संघिता पक्षधर पार्टीहरुलाई समेत यसको खर्च र व्यवस्थापनले सताएको भन्दै उनले केही बर्ष भित्रै सबै मिलेर मिलाएर संघियता खारेज भएरै जाने ठोकुवा गरे । संघियताको साटो एकात्मक राज्य व्यवस्थाबाट बिकेन्द्रिकरणमा जानुपर्ने भन्दै केसीले राज्यको क्षमता अनुसारको राज्य व्यवस्था कायम गर्नुपर्ने आवश्यकता औल्याए ।
बिदेशीहरुको हस्तक्षेपका कारण नेपालका जनताको चाहना बिपरितको व्यवस्था लागु भएको भन्दै केसीले नेपालका सांसदलाई तालिम दिने युएनडिपीको हस्तक्षेप सह्य नभएको बताए । ‘हाम्रा देशका कर्मचारी तथा सांसद समेत बिदेश घुम्न जान पाउँदा स्वर्ग गएको महशुस गर्छन्’ केसीले भने, ‘लगानी गरेर बिदेश घुमाउनेहरुले आँफु अनुकुल प्रयोग गर्दा हस्तक्षेप बढेर गयो ।’ जसको नुन खाएको हो,उसैको भजन गाउने कुरा नौलो नभएको भन्दै केसीले नेपालका कर्मचारी तथा सांसद र नेताहरु बिदेशीको लगानीमा घुम्न जाने परिपाटीको अन्त्य हुनुपर्ने बताए । एक फरक प्रसङ्गमा बोल्दै केसीले दुई तिहाईको सरकारले जनताको चाहना अनुसारको बजेट ल्याउन नसकेको बताए । निर्वाचनका बेला घोषणा–पत्र मार्फत जनताको बिचमा गरेका बाचा अहिलेको सरकारले बिर्सिएको भन्दै केसीले बलियो सरकारको कमजोर प्रस्तुति देखिएको बताए ।
दुई तिहाईको कम्युनिष्ट सरकारले समाजबाद उन्मुख बजेट ल्याउन नसकेको भन्दै केसीले सरकारको आलोचना गरे । ‘कृषि, भुमी सुधार, लगायतका बिषयमा बजेट एकदमै कम छ’ केसीले भने, ‘सरकारले समाजबादको बिकासका लागि आवश्यक पुर्वाधार बन्ने गरी बजेट बनाउन सकेन ।’ नेकपा एमाले र माओवादी केन्द्रका बिचमा भएको एकता स्वागत योग्य भएको केसीको भनाई थियो । ‘अहिले राष्ट्रपतिय प्रणालीको कुरा आईरहेको छ’ अध्यक्ष केसीले भने,‘राष्ट्रपतिय प्रणाली नेपालका लागि कुनै पनि हालतमा मान्य हुँदैन ।’ केसीले संघिय समाजवादी फोरम र राजपा सर्त शहित सरकारमा सामेल हुन लागेको बिषयमा समेत शंका व्यक्त गरे । ‘प्रदेशको सिमांकनका बिषयमा संबिधानमा उल्लेख भएको धारा १७४ लाई मुद्धा बनाएर मधेसवादी दल सरकारमा सहभागी हुँदैछन्’ अध्यक्ष केसीले भने, ‘यदि यो सरकारले उनीहरुको मागलाई स्वीकार गरेर संबिधानको संशोधन ग¥यो भने त्यो दुर्भाग्य हुनेछ ।’ हालको सरकारमा आफ्नो पार्टी सामेल नहुने केसीले स्पष्ट पारे । कार्यक्रम प्रगतिशिल पत्रकार संघका ताराप्रसाद शर्माको अध्यक्षता र बिजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।