ढोरपाटन जाने बाटोमा यात्रुलाई सास्ती

सडकका कारण दुर्घटनाको भय

बागलुङ, ५ असार– पर्यटकीय क्षेत्रको रुपमा परिचित ढोरपाटन जति राम्रो छ, जाने काम त्यतिकै सास्ती खेप्नुपर्ने अवस्था छ । ढोरपाटन क्षेत्रमा बस्ने झण्डै ३ हजार घरपरिवार र दैनिक घुम्न जानेहरुलाई सडकको समस्याले सास्ती खेप्नु परेको हो । सडक अभावमा यहाँका मानिसले ढुवानीमा र यातायातमा धेरै खर्च गर्न बाध्य छन् । पिठ्युँमा बोकेर बुर्तिवाङ झार्ने काम निकै कठिन छ । हिउँदमा जिप चढेर पुगिने ढोरपाटन जेठको दोश्रो सातादेखि नै चिप्लो र हिलो भैसकेको छ ।
बुर्तिवाङदेखि ३६ किमीमा ढोरपाटन पुगिन्छ । ढोरपाटन घुम्न जानेलाई पनि यो बाटो नबनेकोमा चिन्ता छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिम छ । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको स्थानीय सवारी चालक मिनबहादुर पुनले बताए । ‘पानी परेपछि ढोरपाटन जाने हिम्मत नगरे हुन्छ’ पुनले भने, ‘जोखिम मोल्नुभन्दा हिड्न सल्लाह दिन्छु ।’ हिउँदमा बढी चिसो हुने भएकोले बर्षतमा ढोर घुम्न जाने धेरै छन् । जनैपूर्णिमा ताका ढोरबराह मन्दिरमा सातासम्म मेला लाग्छ । यो बेला सयौं भक्तजनले सवारी चढ्न पाउँदैनन् । बुर्तिवाङदेखि पैदल हिड्नुपर्दा धेरैले चाहेर पनि जान सक्दैनन् । ‘समय मिलाएर घुम्न जाऔं भनेको, बाटो देखेर दिक्क भईयो’ गलकोटका नारायण पौडेलले भने, ‘हिड्नै प¥यो भने त दुःख पाईने भयो ।’ बिदाको समयमा घुम्ने चाहना राख्नेले हिडुनु पर्दा बुर्तिवाङदेखि जान एक दिन, फर्कन एक दिन खर्चनु पर्छ ।
घुम्ने समय मिलाउँदा कम्तिमा ४ दिनको बिदा लिनुपर्ने उनले बताए । आयोजना प्रमुख होमबहादुर केसीले आगामी बर्ष सडक स्तरोन्नती गर्ने बतए । ‘हामीसंग तीन बर्षदेखि बजेट घट्दो दरमा छ, त्यसैले सोचेजती काम गर्न सकेका छैनौं’ केसीले भने, ‘तत्काल खुलेको ट्रयाकलाई फराकिलो बनाउने र नाली काट्ने भनेका छौं ।’ हाल खुलेको ट्रयाकमध्ये बागलुङ खण्डको ४० किमी बढी जोखिमको छ । दर्लिङ, देविस्थान, बुर्तिवाङहुँदै ढोरपाटन पुग्ने सडक जोखिम भएको केसीले बताए । ट्रयाक खोल्ने पहिलो बर्ष २५ करोड बजेट परेकोमा चालु बर्ष २२ करोड र आगामी बर्षलाई १८ करोड रुपैयाँ मात्र बिनियोजन भएको हो । उक्त रकममध्ये आगामी बर्षका लागि बुर्तिवाङदेखि ढोरपाटनको ३० किमीलाई केन्द्रीत गर्ने उनले बताए । ‘हिउँदमा सरर जिप चलेकै हो, तर बर्षातमा पहिरो खस्ने, हिलो र उकालो भएकोले हिड्न कठिन छ’ केसीले भने, ‘यो समस्या धेरै समय रहन दिनेछैनौं ।’ चालु बर्ष यो खण्डको डिपिआरका लागि परामर्शदाता नियुक्त भैसकेकोले आगामी बर्ष काममा केन्द्रीत हुने उनले बताए ।
घुम्तीहरु फराकिलो बनाउने काम भने बर्षात्मा पनि नरोकिने केसीको दाबी छ । ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आयोजना प्रमुखलाई बोलाएर काममा तीव्रता दिन आग्रह गरेको बताए । ‘नगरपालिका भित्रै जनताले सास्ती खेप्नुप¥यो भनेर समस्या देखाए’ नेपालीले भने, ‘जोखिमको यात्रा गर्नु नपर्ने गरी काम गराउने सहमति भएको छ ।’ सयौं पर्यटकले जाने चाहना राखेपनि यहाँको सडकको सास्तीले फर्कने गरेको उनले टिप्पणी गरे । ढोरपाटनका ३ हजार ५ सय घरपरिवार र सेनाको व्यारेकलाई खाद्यान्न ढुवानी र किसानको उत्पादन बजार पठाउन सडक बाधक भएको हो । सवारी नचल्दा सयौे पैदल हिड्न बाध्य छन् । आगामी आर्थिक बर्षभित्र १० मीटरको ग्राभेल सडक बनाउने गरी काम गर्ने केसीको दाबी छ । बजेट बढाउने काममा सबै जनप्रतिनिधि तयार हुनुपर्ने उनले बताए । ढोरपाटनदेखि सालझण्डी १ सय ९५ किमी दुरी पर्छ । यो सडक बनेमा लुम्बिनी आएका सबै पर्यटक ढोरपाटन ल्याउन सकिन्छ । हाल सन्धीखर्क सम्मको सडक मात्र स्तरीय छ ।