यातायात व्यवस्था कार्यालय बागलुङमा प्राविधिक अभाव

काममा ढिलाई भएको भन्दै व्यवसायी अक्रोशित

बागलुङ, ६ असार– करिब तीन सातादेखि यातायात व्यवस्था कार्यालय धौलागिरीमा प्राविधिक अभाव भएको छ । प्राविधिक ईन्जिनियर नहुँदा यातायातका साधनको जाँचपास हुन नसकेको यातायात व्यवसायी रामप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार, असार मसान्तसम्म नविकरण गरिसक्नुपर्ने काम अगाडि बढ्न नसकेको हो । असार मसान्तसम्म यातायातका साधन नविकरण नगरेमा २० प्रतिशतभन्दा धेरै रकम जरिवाना तिर्नुपर्छ ।
धौलागिरी यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसी, बागलुङ भगवती यातायात प्रालिका महासचिव मनोज खड्का सहितको नेतृत्वमा यातायात क्षेत्रका व्यवसायी, मजदुर र संगठनका अगुवाहरु मंगलबार कार्यालय घेराउका लागि पुगेका थिए । उक्त समयमा कार्यालयका निमित्त प्रमुख देबहादुर थापाको संयोजकत्वमा भएको छलफलमा व्यवसायीले तत्काल प्राविधिक खटाउन माग गरेका थिए । उनीहरुले ३ दिनभित्र प्राविधिक नआएमा कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारिदिने चेतावनी दिएको अधिकारीले बताए । व्यवसायीका अनुसार धौलागिरी अञ्चलमा दर्ता भएका झण्डै १ हजार बस छन् ।
ती बाहेक अन्य सवारी साधन समेत गर्दा ४ हजार बढी छन् । ती साधानको असार मसान्तभित्रै नविकरण गरिसक्नुपर्ने प्रावधान छ । नविकरणका लागि प्राविधिकले सवारी साधनको कण्डिसन र गुणस्तर जाँच गर्नुपर्छ । कार्यालयको लापरवाहीका कारण समयमा नविकरण नभएर जरिवाना तिर्नु पर्ने भएमा नतिर्ने उनीहरुले चेतावनी समेत दिए । निमित्त कार्यालय प्रमुख देबबहादुर थापाले विभागमा छलफल भैसकेको र कार्यालय प्रमुख उक्त कामका लागि काठमाण्डौ गएकोले छिटै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।