बागलुङ नगरपालिकाले छ करोड कर उठाउने

बागलुङ, २३ असार- बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्षमा ६ करोड रुपैयाँ राजस्व संकलन गर्ने भएको छ । बिहिबार तेस्रो नगर सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै नगर–उपप्मुख सुरेन्द्र खड्काले ६ करोड कर संकलन गर्ने लक्ष्य लिएको बताए । घर बहाल, एकीकृत सम्मति कर, व्यवसाय कर, बस्तु तथा सेवाको कर, आय कर लगायतका करमार्फत नगरको आम्दानीको रुपमा ६ करोड कर संकलन गर्ने लक्ष लिईएको हो । चालु आर्थिक बर्षमा २ करोड २२ लाख रुपैयाँ कर संकलन गरेको नगरपालिकाले आगामि आर्थिक बर्षमा कर संकलनको मात्रा बढ्ने जनाएको छ । ‘चालु आर्थिक बर्षमा नगरभित्रको गिटी बालुवाको टेण्डर जिल्ला समन्वय समितिले गर्दै आएको थियो, अब हामीले टेण्डर गरेर कर लिन पाउने व्यवस्था भएको छ’ उप–प्रमुख खड्काले भने ‘चालु आर्थिक बर्षसम्म कर कार्यालयले लिने गरेको घरबहाल कर पनि अब नगरपालिकाले लिन पाउने भएकाले राजश्व बढ्ने अनुमान गरिएको हो ।’ बागलुङ नगरपालिकाभित्र घर बहालमा लगाउनेहरुबाट कर कार्यालयले १० प्रतिशत र नगरपालिकाले २ प्रतिशत गरेर १२ प्रतिशत कर लाग्दै आएको थियो । बागलुङ नगरपालिकाको बजेट बक्तव्यमा उल्लेख भएबमोजिम अब घरबहाल कर दुई ठाउँमा तिर्नु नपर्ने र नगरपालिकालाई मात्रै तिर्दा ६ प्रतिशत तिरे पुग्ने व्यवस्था गरिएको छ । त्यस्तै कर कार्यालयले दिँदै आएको व्यवसाय कर पनि नगरपालिकाको मतहतमा आएकाले राजश्व बढ्ने भएको हो । ‘घरबहाल कर मात्रै झण्डै ३ करोड ७० लाखको हाराहारीमा उठ्ने अनुमान गरीएको छ’ खड्काले भने ‘अन्यकरहरुको समत दायरा फराकिलो पारिएकाले राजश्व बृद्धि हुने अपेक्षा गरिएको हो ।’ नगरभित्रकै कतिपय वडाहरुमा यसबर्ष मात्रै एकीकृत सम्पत्ति कर लागु गरिएकाले करको मात्रा बढ्ने अनुमान गरिएको छ ।