टोड्केमा ३ करोडको लागतमा रिसोर्ट बन्दै

पर्यटकलाई अधिकतम सेवा सुविधाका साथै अग्र्यानिक उत्पादन खुवाउने लक्ष्य

म्याग्दी, २७ असार-घोडेपानी र पुनहिलपछिको सम्भावनायुक्त टोड्केमा पर्यटकलाई लक्ष्य गर्दै ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक सुविधासहितको रिसोर्ट बन्ने भएको छ । जिल्लामा छोटो दूरीको आर्कषक गन्तब्यको रूपमा चिनिएको टोड्केमा स्थानीयवासीको सक्रियतामा सञ्चालित टोड्के हिल्स रिसोर्ट प्रालिले अत्याधुनिक सुविधासहितको रिसोर्टका लागि पूर्वाधार निर्माणको काम शुरु गरेको छ ।
मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गम स्थलमा पर्ने टोड्के, मालिका मन्दिर, धौलागिरि सेन्चुरी पदमार्गमा आवतजावत गर्ने पर्यटकलाई लक्ष्य गरी रघुगंगा गाउँपालिका–५ झीँमा रिर्सोट, सभाहल, अर्गानिक तरकारी खेतीको काम दु्रत गतिमा भइरहेको छ । समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा करिव साढे दुई रोपनी जमीनमा १० वटा सुविधासम्पन्न कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ्ग हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, २० वटा टेन्ट हाउसको निर्माण कार्य भइरहेको हिल्सका अध्यक्ष मीन बहादुर पाइजाले बताए । ‘बर्खाको समयमा पनि काम रोकिएको छैन, एक वर्षभित्र रिर्सोट सञ्चालन गर्ने गरी काम गरिरहेका छौं,’ पाइजाले भने ।
उनका अनुसार, पर्यटकलाई आवश्यक पर्ने अग्र्यानिक तरकारीका लागि करीव साढे ६ रोपनी जमीनमा तरकारी खेतीसमेत शुरू गरिएको छ । टोड्केमा पुग्ने पर्यटकको सुरक्षाका लागि रिर्सोट आसपासका क्षेत्रमा १८ वटा सिसी क्यामेरा जडान गर्ने योजना अन्तर्गत हाल चार वटा सिसी क्यामेरा र हेलोजिन लाइट जडान गरिएको छ । वर्षाका कारण विद्युत् आपूर्तिमा समस्या भएपछि प्रालिले जेनेरेटर जडान गरी कामलाई तीव्रता दिइएको प्रालिका सञ्चालक मोहन खत्रीले बताए । ‘अहिलेसम्म प्रचारप्रसारमै केन्द्रित भयौं, अब रिसोर्टसहितको पूर्वाधारले पर्यटकलाई आकर्षित गर्नेछौं,’ खत्रीले भने । टोड्के क्षेत्र विकास कोषका निवर्तमान अध्यक्ष समेत रहेका खत्रीले जिल्लाको महत्वपूर्ण पर्यटकीय तथा धार्मिक स्थलको सूचीमा परेको टोड्केको भ्रमणमा आउने पर्यटकलाई न्यूनतम पूर्वाधारको समेत सुविधा नहुँदा समस्या हुने गरेको र आवश्यकता अनुसार लगानी थप्ने योजना रहेको बताए । हरेक वर्ष पूर्वाधार विस्तारको लक्ष्य रहेको प्रालिले जनाएको छ । लगानीमा स्थानीयलाई प्राथमिकता दिइएको छ ।
काठमाडौँ र पोखरामा रहेका ट्रेकिङ्ग एजेन्सीहरूसँग समेत सहकार्य भइरहेकाले पर्यटकको कुनै कमी नहुने प्रालिको दाबी छ । टोड्केमा पुग्ने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथै अग्र्यानिक उत्पादन खुवाउने लक्ष्य अनुसार रिसोर्टका लागि प्रालिका अध्यक्ष पाइजाले आफ्नो व्यक्तिगत जमीन तरकारी खेतीका लागि उपलब्ध गराएका छन् । मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे जंगलमा रमाउन, जंगल सफारी, वनभोज खान मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । त्यस्तै, प्यूठान जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखासमेत टोड्केमा रहेको छ ।