भ्याप्ले खोलाको पहिराेले पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध

कुश्मा, २८ असार – वर्षाका कारण सडक माथिबाट खसेको पहिराेले बुधबार रातिदेखि पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । मोदी गाउँपालिका-५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटलेबताए। बुधबार राति १० बजे पहिरो खस्न सुरु भएकाे हाे।
पहिराेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधन बीचैमा अलपत्र परेका छन्। बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ।
बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन। वर्षा शुरु भएसंँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा-बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ। दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।