पूर्ण खोपबारे समिक्षा

बागलुङ, २८ असार-जिल्लालाई पूर्ण खोप शुनिश्चित घोषणा गरिएको अभियानको जिल्ला खोप समन्वय समितिले समीक्षा गरेको छ । अभियानलाई पूर्णता दिन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ । बुधबार आयोजित एक कार्यक्रममा समितिका सचिव तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीले प्रस्तुत गरेको प्रतिवेदनमा लामो समय देखिको प्रयासले मात्र यो घोषण सफल भएको बताए । साथै उनले यो अभियानले एउटा बाटो देखाएको भन्दै अब देखि जन्मने हरेक बालबालिकाको रेकर्ड अध्यावधिक गरेर मात्र पूर्ण खोपको अभियानलाई निरन्तर सफलतामा पु¥याउन सकिने भन्दै संचारकर्मीले प्रचार–प्रसारमा राम्रो सहयोग गरेको समेत बताए । यो अभियानमा सबै भन्दा धेरै अप्ठ्यारो ढोरपाटन नगरपालिकामा भएको पनि बताए । जिल्लामा जन्मे देखि १५ महिना सम्मका ५ हजार ९ सय ६९ बालबालिका भएको तथ्यांक यो समयमा निकालिएको छ ।
त्यस्तै १५ महिना देखि २३ महिनाका ३ हजार ९ सय ६ बालबालिका ले १५ महिनाको सबै खोप पाएको घोषणा गरिएको थियो । ती मध्ये ढोरपाटन नगरपालिकाका ४ सय ६६ बालबालिकाले पुर्ण खोप पाएको घोषणा गर्न कठिन भएको हो । गाउँपालिकाहरुमा पनि यो अभियान संचालन गर्दा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु घरघरमा पुगेका थिए । लामो संघर्षले सफल भएको यो अभियान घोषणामा आएकी गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुन, गण्डकी प्रदेश मामिला समितिका सभापति कृष्ण थापा, कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणीभद्र शर्मा कंडेल, सांसद ईन्द्रलाल सापकोटा, सावित्री राना लगायतको उपस्थिति, घोषणाका लागि क्षेत्रीय निर्देशक डा. बिनोद कुमार गिरी र बाल स्वास्थ्य महाशाखा प्रमुख डा. झलक शर्मा गौतम समेतलाई धन्यवाद दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षता र तेजप्रसाद निउरेको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरप्रमुख जनक पौडेल र पत्रकार राजेशचन्द्र राजभण्डारीले पनि मन्तव्य राखेका थिए ।