पहिरोका कारण अवरुद्ध पोखरा–बागलुङ सडकखण्ड बाह्र घण्टापछि सुचारु

पर्वत, २८ असार- अबिरल बर्षासँगै पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड बाह्र घण्टापछि सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गएराति १० बजेबाट सडक अवरुद्ध भएको थियो । केहिबेर अघिदेखि बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तब्यतर्फ लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले बर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि बर्षा हुँना साथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए । बर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।