नेपाल-चीन सम्बन्धलाई व्यापक बनाउनु पर्छ-प्रमओली

चीनका राजदुत यु होङलाई भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण

काठमाडौं, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताएका छन । चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहिबार सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताए । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले भनाई थियो ।
प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरे । हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने ( भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।
वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए । “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताए । साइवेरिया देखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका  लागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीको भनाई थियो । दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।