गीत : तिमीलाई संसारले पर्खिरहेछ

 

देशको सीमाले छेक्यो नभन 
नदी नालाले रोक्यो नभन
सात समुद्रले छोप्यो नभन
यदि छ भने तिमी भित्र साहस
तिमीलाई संसारले पर्खिरहेछ।

खनेर सकियो कदापि नभन
नखनेको अझ धेरै नै छ।
जानेर सकियो कदापि नभन
नजानेको अझ धेरै नै छ ।
हिडेर सकियो कदापी नभन
नहिडेको अझ धेरै नै छ।

बटुली साहस सधै मन भरी
सङ्गाली बल सधै तन भरी
बढाउ यात्रा नुतनको खोजीमा
तिमीलाई संसारले पर्खिरहेछ।

भास्को डि गामा तिमी भित्रै छ
कोलम्बस पनि तिमी भित्रै छ
शुरु गर यात्रा आज देखि नै
तिमीलाई संसारले पर्खिरहेछ।

(मेरा विद्यार्थीहरुप्रती समर्पित गीत)