तरकारी गाउँले परिचित फोर्सेका युवा लाखौं कमाउछन

बागलुङ, २९ असार -गाउँलेहरुले तरकारी खाने भन्नेसम्म नजानेको बेला फर्सेका केही अगुवा किसानले थालेको कामले तरकारी गाउँ भनेर चिनाएका छन् । युवा जोशमा कमाई गर्न धेरै साथीहरुले व्यापार गरे, कोही बिदेश गए । तर उनले गाउँमै बस्नुपर्छ भन्ने सन्देश समेत दिएर थालेको व्यवसायिक तरकारीबाट मनग्ये कमाई मात्र गरेका छैनन्, सिंगो गाउँलाई व्यवसायिक बनाएका छन् । पर्वतको फर्सेका तुलबहादुर अधिकारी ६५ बर्षको बुढ्यौलीमा पनि जोशिलो बनेर काम गरिरहेका छन् । उनकै अगुवाईमा यहाँका एक सय बढी युवाहरु बिदेश जाने सोच बदलेर काममा खटिएका छन् ।
मालढुंगा बेनी सडकले छोएर गएकोले यो गाउँका युवाले उत्पादन गरेको कृषि फसल सजिलै बजारमा बिक्रि समेत हुन्छ । बागलुङ बजारका अधिकांस होलसेल, सेनाको व्यारेक, मुस्ताङ, बेनी र कुश्मा बजारमा समेत यो गाउँको उत्पादनले बजार पाएको छ । बैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्केका युवा र जाने चाहना राखेकाहरु पनि अहिले तरकारी उत्पादनमा लागेका छन् । यसरी काम गर्दा यहाँका युवाहरुले मासिक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउन सकेको बताए । ‘होलसेल पसलमा तरकारी पठाउने र बारीबाटै बिक्री गर्ने कामले फुर्सद छैन’ अधिकारीले भने, ‘काम गरे मेहेनत खेर जाँदैन भन्ने सन्देश दिन सकिएको छ ।’ अधिकारी जस्तै गाउँका रामप्रसाद रेग्मी, जिवलाल क्षेत्री लगायतले यो पेशालाई जीवनको कमाईको आधार बनाएका छन् ।
यहाँको झण्डै दुई सय रोपनी जमिनमा फलाएको तरकारीले २० युवाले दैनिक काम समेत पाएका छन् । २०४० सालदेखि व्यवसायिक तरकारी फलाएका अधिकारीको अगुवाईमा कालीगण्डकी किनारको फर्से र बागलुङ नगरपालिका–४ को ढोडेनीलाई तरकारी गाउँ बनाईसकेका छन् । पोखरा बागलुङ राजमार्ग खुल्ने क्रममा तरकारी बिक्रि गर्न सकिने आसले थालेको कामबाटै अधिकारीले जीवन बिताएको बताए । मालढुंगादेखि बेनी जाने सडकले फर्सेलाई नजिक बनाएपछि किसानले सजिलै आफ्ना फसल बिक्रि गर्न सकेका हुन् । ‘तरकारी खानुपर्छ भन्ने पनि थाहा थिएन, कृषि सम्बन्धी संस्थाले तालिम र बिउ दिएकोले फलाएका थियौं’ अधिकारीले भने, ‘केही बर्षपछि त्यो संस्था फर्केर गयो, सडकको विकासले हामीले काम छाडेनौं ।’ तरकारी खानै नजानेका गाउँगाउँमा लाखौंको फसल फलाउने क्रम शुरु भएको उनले बताए । अधिकारीलाई यो अभियानमा गाउँका धेरैले साथ दिएका छन् । पटक–पटक सम्झाएपछि युवा पुस्ता समेत बिदेश जान छाडेर कृषि कर्ममै लागेकोमा खुसी लागेको अधिकारीले बताए । तरकारी विक्रिकालागि पर्वतको जलजला गाउँपालिका–१ र बागलुङ नगरपालिका–४ का किसानले सहकारी खोलेका छन् । ढोडेनी तरकारी उत्पादक सहकारी संस्थामार्फत दैनिक बिक्रिको प्रबन्ध गरिएको अधिकारीले बताए । बागलुङ बजारस्थित नेपाली सेनाको व्यारेक र अधिकांस होलसेल पसललाई उनीहरुले तरकारी उपलब्ध गराएका छन् । महेन्द्रपथकी गंगा जिसीमार्फत सेनाले दैनिक तरकारी लैजाने गर्छ ।
बजारका लागि एक हजार केजीसम्म यहाँका किसानले सामान पठाउँछन् । सुरु–सुरुमा स्थानीय तरकारी थोरै भएकोले तराईको मगाएर पठाउनु पर्ने होलसेल बिक्रेताहरुले पनि स्थानीय उत्पादनलाई नै बजार पठाउन पाएको बताउँछन् । बानपा–३ को पावरहाउसको तरकारी पनि बागलुङ बजारमा बिक्रि गर्दा बर्षातको समयमा आयात गर्नुपर्दैन । सुख्खा मौषममा केही तरकारी आउने क्रम भने अझै रोकिएको छैन । डोकोमा बोकेर ल्याउने युवाहरुले अहिले गाउँमै दूध समेत उत्पादन गरेर बजार ल्याउँछन् । दैनिक दूध ल्याउने जिपमा समेत उनीहरुले तरकारी राखेर पठाउने गरेको क्षेत्रीले बताए । उनीहरुले काउली, बन्दा, गोलभेंडा, बोडी, साग लगायतका दर्जनौं प्रकारका तरकारी फलाउने गरेका हुन् । कालीगण्डकीको झोलुंगे पुल तरेर युवाहरुले दैनिक ४ खेपसम्म तरकारी बजार पु¥याउने गरेको बताए । बिचौलीयाको अन्त्य गर्न किसानले उत्पादनलाई आफै बजार पठाउने गरेको बताउँछन् । युवाहरुले गाउँकै अन्य दुई युवालाई नियमित तरकारी खेप्ने कामको जिम्मा पनि दिएका छन् । नभ्याएका किसानको तरकारी उनीहरुले बजार पठाईदिने र बिक्रि गरेको पैसा ल्याईदिने गर्छन् । नियमित बिक्रि गरेको उनीहरुले कमिसन र तलब पाउँछन् । एक सय जनामध्ये न्युन कमाई गर्नेले बार्षिक ५ लाख र राम्रो गरेकाहरुले १० देखि १२ लाख रुपैयाँसम्म कमाउन सकेको बताए । यहाँका अधिकांस किसानले कमाईबाट घरखर्च चलाएर सदरमुकाम र शहरी क्षेत्रमा घर समेत बनाएको बताए ।