भूसंरक्षण कार्यालयद्दारा बिरुवा वितरण कार्य शुरु

बागलुङ, २९ असार-जिल्ला भूसंरक्षण कार्यालयले चालु बर्ष उत्पादन गरेको ४० हजार बिरुवा बितरणको काम थालेको छ । अधिकांस कार्यक्रम र कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकोले धेरै कार्यक्रम समावेश नभएको कार्यालयले बिरुवा भने वितरण गरेको हो । असार २५ गतेदेखि लागू हुने गरी डालेघाँस र फलफूल जन्य बिरुवा वितरण गरेको हो । राईखन्यु, शिरिष, बकैना, नेवारो लगायतका बिरुवा वितरण भएको सहायक भू संरक्षण अधिकृत शम्भू झाले बताए । व्यक्तिगत र समूहगत रुपमा आउने किसानहरुलाई बिरुवा वितरण गर्ने कार्यालयको कार्यक्रम छ । अघिल्लो बर्षसम्म कार्यक्रम समेत धेरै भएकोले गलकोटको मल्ममा समेत नर्सरी बनाएर १ लाख वटासम्म बिरुवा बितरण गरिन्थ्यो । यो बर्ष गलकोटको कार्यक्रम थिएन । कार्यालयले गलकोट क्षेत्रमा संचालन गरेको दरमखोला एकीकृत जलाधार कार्यक्रम समेत संचालन हुने नहुनेमा अन्यौल रहेको बताइएको छ । हरेक बर्ष विभिन्न जलाधार र उपजलाधार क्षेत्रमा तटबन्ध, वृक्षा रोपण र भूसंरक्षणको कार्यक्रम संचालन हुन्थ्यो । समुदायमा आधारित कार्यक्रम भएकोले सरोकारवालाहरुले प्रत्यक्ष सहभागि भएर योजना बनाउने गर्थे ।
बाढी पहिरो नियन्त्रण, दिगो भूव्यवस्थापन, डालेघाँस र फलफूलका बिरुवा लगाएर माटोको संरक्षणमा समेत काम गरिन्थ्यो । जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरण गर्दै अनुकुलन योजना बनाउने, पोखरी, पानीका मुहान र मुलहरु संरक्षणमा पनि कार्यालयले काम गर्दै आएको थियो । चालु बर्ष न्युन कार्यक्रम र बजेट आएको थियो । आगामी आर्थिक बर्षदेखि भने कार्यालय खारेजीमा परेकोले स्थानीय तहहरुमा समायोजन गर्ने तयारी छ । ‘अब कार्यालय र दरबन्दी कता मिलान हुन्छ, त्यही आधारमा कामको प्रकृति फेरिन्छ’ झाले भने, ‘अहिलेसम्म स्पष्ट कार्यक्रम नआएकोले यसै भन्न मिल्ने अवस्था छैन ।’ यसअघि कार्यालयले भूउपयोग विकास योजना तर्जुमा, सामुदायिक एकीकृत जलाधार व्यवस्थापन कर्याक्रम, भूमी उत्पादकत्व संरक्षण, विकासका कार्यक्रम समेत संचालन गरेको जिल्ला भू संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । भू संरक्षणका लागि पहिरा जानसक्ने खतराका क्षेत्र र पहिरोले जोखिम बनाएका स्थानमा तारजाली बितरण गरेर माटो र बस्ती समेत संरक्षणको काम गर्दै आएको थियो । बर्षातको समयमा हुने दुर्घटना, बाढी र पहिरो नियन्त्रण तथा उद्दारको काम गर्नका लागि यो बर्ष प्रशासनको नेतृत्वमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले आवस्यक प्राविधिक सहयोग गर्ने प्रबन्ध मिलाएको बताइएको छ । प्रशिक्षार्थी